काठमाडौं- खाडी मुलुकमा घरेलु कामदार हाउसमेड पठाउन सरकारले लगाएको प्रतिबन्ध खुलाउन ठूला तीन दलका नेता नै लागिपरेको खुलेको छ ।
प्रतिबन्ध फुकुवा गर्नका लागि तस्करको संगठित गिरोहले नेताहरूलाई प्रयोग गरी आफूलाई दबाब दिइरहेको श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले बताएका छन् ।
सरकारले पछिल्लोपटक चैत अन्तिम साता घरेलु कामदारका रूपमा कुवेत, कतार, साउदी अरेबियालगायत खाडी मुलुक जान प्रतिबन्ध लगाएको थियो ।
घरेलु कामदारका रूपमा जाने नेपाली युवायुवतीले चरम यातना पाएको, समयमा तलब नपाएको र महिला कामदारले यौनजन्य हिंसासमेत बेहोर्नुपरेको गुनासो आएपछि खाडी पठाउन प्रतिबन्ध लगाइएको हो ।






