काठमाडौं– वैशाख ७ गते पार्टी एकता हुँदै गर्दा मुख्य भूमिका निभाउने नेताहरूमध्येका एक हृदयेश त्रिपाठीले पछिल्लो समय राष्ट्रिय जनता पार्टी (राजपा) नेतृत्वप्रति निरन्तर असन्तुष्टि जनाएका छन् ।
त्रिपाठीले वरिष्ठताको वरीयतामा पार्टी संयोजक महन्थ ठाकुरपछि आफू पर्ने दाबी गर्दै पछिल्लो दिनमा आफ्नो भूमिकालाई उपेक्षा गर्ने काम भएको भन्दै ‘पार्टी नै छाड्न सक्ने’ चेतावनी दिएका छन् ।
६ मधेसी घटकलाई जोड्ने पहल लिँदै गर्दा त्रिपाठीले तत्कालीन तमलोपा अध्यक्ष महन्थ ठाकुरलाई एकीकृत दलको सर्वमान्य नेताको दर्जा दिँदै आफू अग्रणी भूमिकामा आउन चाहेका थिए । स्रोतका अनुसार ठाकुरले त्यसलाई नकार्दै अरू घटकलाई पनि सँगै लिएर जानुपर्ने मत राखेपछि त्रिपाठीको प्रस्ताव अघि बढ्न सकेन ।






