तीस लाखलाई बेलायतमा आवासीय अधिकार !

निर्वाचनमा बहुमत गुमाएपछि बेलायती प्रधानमन्त्रीको लचकता संकेत

-शिव भण्डारी

लन्डन– बेलायती प्रधानमन्त्री टेरेसा मे ले बेलायतमा बस्दै आएका झन्डै तीस लाख युरोपियन नागरिकलाई बेलायतमा आवासीय अधिकार दिने प्रस्ताव गरेकी छन् ।

बेलायतमा विगत पाँच वर्षदेखि बस्दै आएका युरोपियनलाई बेलायतको शिक्षा, स्वास्थ्यलगायतका सुविधासहितको आवासीय अधिकार दिने प्रधानमन्त्रीको प्रस्ताव छ । ‘जतिपनि इयुका नागरिक बेलायतमा कानूनीरूपमा आएका छन् उनीहरूले ब्रेक्जीट पहिले बेलायत पुग्ने व्यक्ति सरह काम गर्ने अधिकार, स्वास्थ्य सेवा र अन्य लाभहरू लिन पाउनेछन्,’ बेलायती प्रधानमन्त्रीले आफ्ना ईयू सदस्य राष्ट्रका समकक्षीसँग ईयुका नागरिकको अधिकारका विषयमा भनेकी थिइन् ।

बेलायती प्रधानमन्त्री मेले आफ्नो देशमा बसोबास गर्दै आएका वा अस्थायी रूपमा काम गरिरहेका ईयू सदस्य राष्ट्रका जनताको भविष्य सुरक्षित गरिने पुन: आश्वासन दिएकी हुन् । ‘कोही पनि बेलायत छोडेर फर्किनुपर्ने छैन । बेलायतको इयूबाट हुने बहिर्गमनका कारण हामीले परिवार छुट्टिएको देख्नुपर्ने छैन,’ उनको भनाइ छ ।

ब्रेक्जीटको सवालमा कडा नीति अंगाल्दै आएकी टेरेसा मे ले हालैको निर्वाचनमा बहुमत गुमाएपछि लचकताको संकेत दिएकी हुन् ।

यसैबीच, ईयु सदस्य राष्ट्रका नेताहरूले बिहीबार बेलायतकी प्रधानमन्त्री टेरेसा मे ले इयु सदस्य राष्ट्रका नागरिकको अधिकारका लागि प्रस्ताव गरेको योजना पर्याप्त नभएको बताएका छन् ।

बेलायतको बहिर्गमन प्रक्रियाका विषयमा छलफल गर्न बोलाइएको युरोपेली नेताहरूको भेलाको दोस्रो दिन बेलायतको तर्फबाट प्रधानमन्त्री मेले राख्नुभएको प्रस्तावप्रति असहमति जनाउँदै युरोपेली आयोगका प्रमुख जाँ क्लाउड जङ्करले पनि प्रस्तावप्रति आफू सन्तुष्ट नभएको बताए । ‘यो पहिलो कदम हो तर यो पर्याप्त भने छैन,’ उनले भने ।