संशोधन प्रक्रियामा एमाले लचक

काठमाडौँ, १० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गर्नुभएको सर्वदलीय बैठकमा स्थानीय तहको निर्वाचन गराउने विषयमा आम सहमति जुटेको छ भने संविधान संशोधन प्रक्रिया छलफलमा लान विपक्षी दल लचक देखिएका छन् ।

बैठकको अन्तिम समयमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जानकारी दिएर अनुपस्थित भए पनि उपस्थित सबै दलले आगामी वैशाख ३१ निर्वाचन घोषणा भएकामा स्वागत गरेका छन् ।

मोर्चाले सीमाङ्कनसहितको संविधान संशोधन पारित नभएसम्म निर्वाचनमा नजाने अडान लिएकाले कसरी सबै पक्षलाई सहमतिमा ल्याउने भन्ने विषयमा बैठकमा छलफल भएको थियो ।

यस्तै स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदनलाई अन्तिम रुप दिने विषयमा पनि प्रधानमन्त्रीले दलको राय माग्नुभएको थियो ।

बैठकपछि प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहालले निर्वाचनका विषयमा आम सहमति भएको र मधेसी दलका मुद्दा सम्बोधनका लागि संविधान संशोधनलाई छलफलको प्रक्रियामा लगिने बताउनुभयो । उहाँले भन्नुभयो, “राम्रो वातावरणमा छलफल भएको छ, सम्भवतः संशोधनलाई छलफलमा लाने प्रक्रियामा हामी जान्छौँ ।”

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि मतदान गर्ने दिनसम्ममा प्रतिपक्षी नेकपा (एमाले)ले पनि संशोधनका पक्षमा मतदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले संशोधन राष्ट्रहितका विषयमा नभएको भन्ने आफूहरुको अडान कायमै रहेको तर यसलाई प्रक्रियामा लाने वा के गर्ने भन्ने बारेमा सत्तारूढ दलले निर्क्यौल गर्नुपर्ने बताउनुभयो ।