लन्डन– हाल बेलायतमा रहनुभएका साहित्यकार कृष्ण बजगाईंले आफ्नो तेस्रो लघुकथासङ्ग्रह ’कवच’ नोबेल पुरस्कार तथा ओस्कार अवार्ड विजेता प्रसिद्ध साहित्यकार जर्ज बर्नाड शाको निवास ‘शा कर्नर’मा सार्वजनिक गरेका छन् ।
बेलायतको ’एयोट सन्ट लरेन्स’मा अवस्थित निवासमा करिब पैँतालिस वर्ष बिताएका शाको त्यहीँ निधन भएको थियो । उनको निवासलाई पुरातात्विक, ऐतिहासिकस्थल तथा स्मारकहरुको सञ्चालन र सम्बद्र्धन गर्ने बेलायतको ‘नेसनल ट्रस्ट’ले सङ्ग्रहालयका रुपमा सञ्चालनमा ल्याएको छ ।
लामो समयदेखि युरोपमा बस्दैआउनुभएका बजगाईंका यसअघि कथा, लघुकथा, नियात्रा आदि गरी सात कृति प्रकाशन भइसकेका छन् । एघार वर्षदेखि उहाँले साहित्यिक अनलाइन ‘समकालीन साहित्य डट कम’को सम्पादन तथा प्रकाशन गर्दै आएका छन् ।
विवेक सिर्जनशिल प्रकाशन, काठमाडौँ प्रकाशन गरेको सो लघुकथासङ्ग्रहमा डायोस्पोरिक जीवन, समसामयिक घटना, धर्म, राजनीति, प्रेम, यौन, शोषण, भ्रष्टाचार, विसङ्गति आदि विषयवस्तु रहेको बजगाईँले जानकारी दिए ।






