भोजेन्द्र बस्नेत (रासस): सोलुखुम्बु, माघ ११ । साँझ करिब ५ बजेतिर एउटी महिला अत्तालिँदै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु पुगिन् ।
प्रहरी नायब उपरीक्षकलाई खोज्दै गएकी उनलाई प्रहरीले प्रनाउ माधवप्रसाद बुढाथोकीसँग भेट गराइदिए ।
बुढाथोकीलाई भेटेपछि उनले जन्तीका लागि भोज तयार गरेको तर जन्ती नआएको र बेहुला पनि सम्पर्कबाहिर गएका कारण आफू बर्बाद भएको बताइन् । उनले तत्काल बेहुलालाई झिकाइदिन प्रहरीलाई आग्रह गरिन् ।
‘जन्ती कहाँबाट आउने ?’ प्रनाउ बुढाथोकीको प्रश्नमा रश्मी भुजेल (नाम परिवर्तन)ले भनिन्–‘जाजरकोटबाट ।’
झनै अचम्म लागेपछि बुढाथोकीले सोधे–‘जाजरकोट कहाँ हो, कति टाढा छ, थाहा छ ?’ भुजेलको जवाफ आयो–‘त्यो त थाहा छैन, जाजरकोट भन्नेमात्र सुनेको ।’
घटना विवरण बुझ्दा थाहा भयो, ती महिला वैदेशिक रोजगारीबाट केही समयअघि फर्केकी रहिछन् । विदेशमा बस्दा ती महिला र जाजरकोट घर बताउने एक पुरुष सँगै बस्दा (लिभिङ टुगेदर) रहेछन् ।
नेपाल फर्केपछि विवाह गर्ने उनीहरुको सर्त रहेछ । दुबै नेपाल फर्केपछि फोनमार्फत् कुराकानी भइरहेको रहेछ ।
केटाले ‘केही समयपछि विवाह गरौंला’भन्दा महिलाले चाँडै विवाह गर्न दबाब दिएपछि केटाले जन्ती लिएर आउने साइत सुनाएछन् । सोहीअनुसार केटीपक्षले विवाहको लागि धुमधाम तयारी गरे ।
विवाहको दिन निम्तालु पनि भेला भए । खानपिनको व्यवस्था पनि भयो । दिउँसोसम्म ‘आउँदैछौं’ भन्दै गरेको केटापक्ष साँझपख एक्कासि आफूहरु नआउने भन्दै सम्पर्कबाहिर पुगेपछि महिला अत्तालिँदै प्रहरीकोमा पुगेकी रहिछन् ।
उनले तत्काल केटालाई झिकाइदिन भने पनि प्रहरीले स्पस्ट ठेगाना नभएको र टाढा रहेकाले तत्काल झिकाउन असम्भव रहेको बताएपछि महिलाले आफू केही दिनसम्ममा फकाएर केटालाई बोलाउने त्यसबेला पक्राउ गर्न सहयोग मागे ।
प्रनाउ थापाले सहयोग गर्ने आश्वासन दिए र महिला फर्किइन् ।
एक हप्तापछि पुनः प्रहरी कार्यालय पुगेकी ती महिलाले केटा सो दिन जिल्लामा आउने बताइन् र प्रहरीले केटालाई पक्राउ गर्यो ।
सार्वजनिक मुद्दाअन्तर्गत् २४ दिन हिरासतमा बसेपछि २५औं दिनमा प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले १० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिए ।
आदेशलगत्तै तिनै महिलाले सो रकम तिरेर केटालाई छुटाइन् र विवाह सम्पन्न गरी गएको शुक्रबार महिला केटासँगै जाजरकोट लागिन् ।
प्रनाउ बुढाथोकीले भने–‘चलचित्रको कथाजस्तो लाग्ने यस्तो घटना यसअघि कतै सुनेको पनि थिइनँ । वैदेशिक रोजगारीले यस्ता समस्या आउन थालेको छ । यस्तो विषयमा युवायुवती सचेत हुनुपर्छ ।’






