आज महाअष्टमी

 

काठमाडौं– बडादसैंको आठौं दिन आज महाअष्टमी पर्व । हर्षोल्लासपूर्वक शक्ति स्वरुपा नवदुर्गा भवानीको पुजा आराधना गर्दै मनाइँदैछ ।

आश्विन शुक्ल प्रतिपदाका दिन पुजाकोठा दसैंघर अथवा मण्डपमा वैदिक विधिपुर्वक नवदुर्गा भवानीको आव्हान गरि घटस्थापना गरिएको स्थानमा आज भक्तिपूर्वक विशेष पुजाआजा गरिन्छ । आज घर घरमा राखिएका वा कलकारखानामा रहेका हतियारलाई धोईपखाली महादेवी दुर्गाको हतियारको रुपमा स्थापना गरि पूजा गर्ने गरिन्छ ।

आज मध्यरातमा बली सहित कालरात्रीको पूजा गर्ने पनि चलन छ । भक्तजनको यस पुजा बाट प्रसन्न भइ देवीले शुभफल र आर्शिवाद दिन्छिन् भन्ने विश्वास रहि आएको छ । महाअष्टमी पर्वको अवसरमा आज बिहानैदेखि देशभर शक्तिका प्रतिक महाकाली, महालक्ष्मी, महासरस्वती र देवी भगवतीका मन्दिरहरुमा श्रद्धालु भक्तजनहरुको ठुलो भीड लागेको छ ।