काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका सामु देखिएका जटिल समस्या हल गर्न राष्ट्रिय एकता हुनुपर्नेमा जोड दिएका छन् ।
राष्ट्रिय एकता, स्वतन्त्रता, अखण्डता र जनताका न्यूनतम अपेक्षाका सवालमा पार्टी या समूहहरुबीच विमती र प्रतिष्पर्धा हुन नहुने भन्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय हितमा सबै पक्ष एकजुट हुनुपर्ने बताए ।
“राष्ट्रिय हितका संवेदनशील विषयमा एकमत निर्माण गर्न राजनीतिक नेतृत्व कतिपय अवस्थामा चुकेको देखिन्छ । यो गलत हो” प्रधानमन्त्रीले भने, “देशको सार्वभौमसत्ता, राष्ट्रिय एकता, जनताको समृद्धि जस्ता विषयमा सबै पक्ष एक हुनैपर्छ”
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेको प्रधानमन्त्री प्रचण्डले युद्धकालको शान्तिकालमा संक्रमणको बेला नेपाली मिडियाको भूमिका विशेष प्रकारको रहेको स्मरण गर्दै संविधान कार्यान्वयनको समयमा समेत सोही प्रकारको सहयोग आवश्यक रहेकोमा जोड दिए । प्रेस सेन्टर नेपालको पहिलो एकता अधिवेशनको उद्घाटनका अवसरमा बोल्दै प्रधानमन्त्रीले देश अत्यन्तै संगीन मोडमा उभिएकोतर्फ संकेत गरे । “तोकिएको समयभित्र तीनवटा तहका निर्वाचन गर्न नसकिए मुलुक दुर्घटनातर्फ जाने खतरा मैले देखेको छु” उनले भने, “यो हुन नसके झण्डै ७० वर्षको बलिदान संकटमा पर्न सक्छ” ।
प्रधानमन्त्री प्रचण्डले नेपाली मिडियाले परिवर्तनका महान आन्दोलनमा विशिष्ट भूमिका निर्वाह गरेको बताउँदै संविधान कार्यान्वयनमा समेत राष्ट्रिय एकताको मूल सूत्रका आधारमा योगदान दिन आव्हान गरे । “मिडियाले रणनीतिकरुपमा नै सहयोग गर्नु जरुरी छ” उनको भनाई थियो । संविधानको कार्यान्वयन र यसको स्वीकार्यता बढाउने विषयमा प्रेसको भूमिका निकै महत्वपूर्ण भएकोले सहयो गर्न उनको आग्रह थियो ।






