हिन्दुराष्ट्रको लागि संविधान संशोधन गरिनुपर्छ : कमल थापा

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले आन्दोलन, नाकाबन्दी या विदेशीको उक्साहटमा राष्ट्रहित बिपरित संविधान संसोधन हुन नसक्ने भन्दै बरु बहुसंख्यक जनताको चाहना रहेको हिन्दुराष्ट्रको लागि संविधान संसोधन गरिनुपर्ने बताएका छन् ।

राप्रपा नेपाल केन्द्रीय प्रशिक्षण विभागद्वारा आयोजित स्थानीय निकायको निर्वाचन तयारी सम्बन्धी ३ दिने आवासिय प्रशिक्षण कार्यक्रमको चितवनमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘आन्दोलन,नाकाबन्दी या बिदेशिको उक्साहटमा राष्ट्रहित बिपरित संविधान संसोधन हुन सक्दैन। हिन्दुराष्ट्रको लागि संविधान संसोधन गर्नुपर्छ । हामी प्रस्ताब लियर जान्छौ नभए जनमत संग्रह गर्नुको बिकल्प छैन ।’

उनले आफ्नो पार्टी संविधानमा सबैभन्दा असन्तुष्ट रहेको दाबी गर्दै असन्तुष्टि रहेको भन्दैमा जंगल नजाने र प्रजातान्त्रिक मार्ग अबलम्बन गर्दै जनतामा जाने बताए ।

सत्ता केन्द्रीत राजनीतिले आर्थिक समृद्धिलाई मात्र अबरुद्ध गरेन, राजनीतिक अस्थिरताको श्रृंखलालाई पनि निरन्तरता दिएको उनले दाबी गरे । तर, उनले यसअघि केपी ओली नेतृत्वको सरकारमा पार्टी सत्तालिप्त हुँदै गएको भनि जनस्तरबाटै लागेको आरोपबारे भने केहि बोलेनन् ।

बरु उनले प्रधानमन्त्री हुन नेपाली जनताको भोटले मात्र नपुग्ने र शक्ति केन्द्रको सहयोग र आशीर्वाद चाहिन्छ भन्ने आत्मसमर्पणबादी मानसिकता दलहरुमा हाबी भएको बताए ।

प्रदेश स्तरमा संचालन हुने प्रशिक्षण कार्यक्रम देशब्यापी सघन रुपमा संचालन हुने पार्टीका केन्द्रिय सदस्य राजाराम बर्तौलाले जानकारी गराए ।