काठमाडौँ, १० साउन । पछिल्लो समयमा नेपाली क्रिकेटमा भएको विवादबारे अनुगमन गर्न अन्तर्राष्ट्रिय क्रिक्रेट परिषद् (आइसिसी)को एक टोली नेपाल आइपुगेको छ ।
आइसिसीको तीन सदस्यीय टोली केही बेरअघि काठमाडौँ उत्रिएको राष्ट्रिय खेलकुद परिषद (राखेप)का प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिनुभयो । टोलीमा आइसिसी कानुन शाखा प्रमुख पाउल म्याक्माहोन, आइसिसी एसिया विकास व्यवस्थापक बन्दुला बार्नापुरा र लेखा शाखाका अमर शेख छन् ।
त्यस्तै आइसिसीका प्रमुख कार्यकारी अधिकृत डेबिड रिचर्डसन र एसोसिएट प्रतिनिधि इमरान ख्वाजा समेत बिहीबार नेपाल आउने बताइएको छ । नेपाली क्रिकेटको विवादले चरम रुप लिएपछि गत वैशाख १३ गते आइसिसीले नेपाल क्रिकेट सङ्घ (क्यान)लाई निलम्बन गर्ने निर्णय गरेको थियो । त्यस्तै अघिल्लो महिना मात्र स्कटल्यान्डको इडिनबर्गमा बसेको आइसिसीको वार्षिक बैठकले निलम्बन सदर गरेको थियो ।






