काठमाडौँ- सभामुख ओनसरी घर्तीले संविधान कार्यान्वयन गर्न दलहरु एकजुट हुनुपर्ने बेलामा सरकार निर्माण गर्ने विषयमा दलहरु विभाजित हुनु देश र जनताका लागि दुर्भाग्य भएको टिप्पणी गर्नुभएको छ ।
स्वास्थ्य मन्त्रालयद्वारा आज यहाँ आयोजित खोपसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै सभामुख घर्तीले भन्नुभयो – “जनता दलहरु एकजुट भई संविधान कार्यान्वयन भएको देख्न चाहन्छन्, गणतन्त्र स्थापना र संविधान निर्माणमा एक जुट भएका दलहरु विभाजित हुनु राम्रो होइन ।” दलहरु मिलेर सकेसम्म सहमतिको सरकार निर्माण गर्नु राम्रो हुने सुझाव उहाँले दिनुभयो ।
“अहिले पनि बालबालिकाले सिटामोल र जीवनजल खान नपाएर अकालमा ज्यान गुमाउने अवस्था विद्यमान नै छ, राजनीतिक परिवर्तन भयो आर्थिक र सामाजिक परिवर्तन साथमा जान सकेन’ – उहाँले भन्नुभयो । सभामुख घर्तीले समयमै सबै बालबालिकलाई पुग्ने खोप खरिद गर्न र नेपाललाई पूर्ण खोपयुक्त बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
पूर्णखोपयुक्त घोषणा गरिने अभियान
सो अवसरमा स्वास्थ्यमन्त्री रामजनम चौधरीले मन्त्रालयले खोप कार्यक्रमलाई उच्च प्राथमिता दिँदै आएको र आगामी दिनमा खोपका प्रकार बढाउँदै जाने तथा सबै बालबालिकालाई आवश्यक मात्रामा खोप लगाउने र नेपाललाई पूर्णखोपयुक्त घोषणा गरिने अभियानमा सरकार लागेको जानकारी दिनुभयो ।
व्यवस्थापिका–संसद्, महिला बालबालिका तथा ज्येष्ठ नागरिक समितिका सभापति रञ्जुकुमारी झाले खोप कार्यक्रमलाई आगामी दिनमा अझ व्यवस्थित बनाउन खोप ऐन पारित गरी विनियमावली निर्माणको अन्तिम चरणमा रहेको जानकारी दिनुभयो ।
मन्त्रालयका नवनियुक्त सचिव डा सेनेन्द्र उप्रेतीले सबै बालबालिकालाई खोपको पहुँच पु¥याउन मन्त्रालयले प्राथमिकता दिएको बताउनुभयो । बालस्वास्थ्य महाशाखाका प्रमुख डा राजेन्द्र पन्तले हाल नेपालमा ९० प्रतिशतभन्दा माथि खोप व्यवस्था रहेको बताउनुभयो ।
कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि डा नेहाल सिंह, युनिसेफ नेपालका प्रतिनिधि तामो होजुमी, रोटरी क्लबका प्रतिनिधि जया शाह, अर्थ मन्त्रालयका सहसचिव लोकदर्शन रेग्मी, विश्व बैंकका प्रतिनिधि डा मानव भट्टराई र सविन भ्याक्सिन संस्थाका प्रतिनिधि डा जोन अन्डुसरले खोपको व्यवस्थापनका बारेमा प्रकाश पार्नुभएको थियो ।
तीनदिने सो गोष्ठीमा नेपालसहित केन्या, सेनेगल, युगान्डा, मङ्गोलिया लगायत २२ देशका विधायिका र स्वास्थ्य मन्त्रालयका उच्चपदस्थ कर्मचारीको सहभागिता छ । गोष्ठीमा खोपका अनुभव आदानप्रदान समेत गरिने छ ।
हाल मन्त्रालयले जन्मेदेखि २३ महिनासम्मका बालबालिकालाई ११ प्रकारका खोप निःशुल्क रुपमा लगाउँदै आएको छ । यी खोपका लागि सविन भ्याक्सिन संस्थाले सरकारलाई आर्थिक एवम् प्राविधिक सहयोग प्रदान गर्दै आएको छ ।






