काठमाडौं, हाम्रो घरगाउँमा पाइने तथा हामीहरूले प्रयोग गर्ने कतिपय चीजबिचहरुको प्रयोगले हामीलाइ बिभिन्न रोगहरुबाट जोगाउँने मात्र नभै यसले बिभिन्न रोगहरूबाट मुक्ति दिलाउँछ । यस्ता धेरै तरकारी तथा मसलाहरूको प्रयोगले हामीलाइ स्वास्थ्यमा दिर्घकालिन फाइदा समेत दिने गर्दछ । यसै क्रममा यहाँ हामीले प्रयोग गर्ने अदुवाका फाइदाहरूका बारेमा चर्चा गरिएको छ ।
अदुवा हामीले साधारणतया तरकारी, मसला र औषधिको रूपमा प्रयोग गर्दछौं । अदुवाको गानो रेशादार हुने गर्दछ । अदुवामा जति कम रेशा भयो त्यतिनै राम्रो मानिन्छ । मुख्यतया मसलाका रुपमा प्रयोग हुने अदुवाले मानिसहरूमा हुने ग्यास्ट्रिकमा कमि ल्याउँने गर्दछ भने यसले ग्यास्ट्रिकका कारणले भएको जलनलाई समेत हटाउन मद्दत गर्दछ । अनुसन्धानबाट पत्ता लगाइए अनुसार अदुवा धेरै प्रकारका उपचारक गुणहरु रहेका हुन्छन ।
यसले एन्टिअक्सिडेन्ट असर देखाउँछ भने यसले मानिसको शरिरमा जलन पैदा गर्ने पदार्थको उत्पादनलाइ समेत रोक्दछ । त्यस्तै यसमा भएको गिगोंरोलका कारण यसलाई पोलेको ठाउँमा पनि प्रयोग गर्दा फाइदा पुर्याउँदछ ।
त्यस्तै गर्भवती महिलामा हुने वान्ताको समस्या हटाउँन पनि यसको प्रयोग गर्न सकिन्छ । बसमा यात्रा गर्दा वान्ता हुनेहरुले वान्ता रोक्ने औषधीको साटो यसलाई प्रयोग गर्न सक्छन् । यस बाहेक धेरै खोकी लागेको समयमा पोलेको अदुवाले मानिसहरूलाइ फाइदा पुयाउँछ ।
किशोरी तथा महिलालाई रजस्वलाको समयमा हुने पिडालाई समेत अदुवाले कम गराउँछ । एक अध्ययनले देखाए अनुसार रजस्वला हुनुभन्दा तीनदिन अगाडीदेखि दिनको चार पटक केहि अदुवाको प्रयोग गर्नाले ६२% मा पिडा कम हुने गर्दछ ।
यसका साथै अदुवाको नियमित प्रयोग गर्नाले ढाड दुख्ने तथा कम्मर दुख्ने रोगलाई समेत कम गर्दछ । यस बाहेक अदुवाको प्रयोगले धेरै प्रकारका क्यान्सरको संक्रमणबाट समेत जोगाउँछ । साथै यसले शरिरमा रोग प्रतिरोधक क्षमतामा समेत बृद्धि गर्दछ ।
यस बाहेक अदुवा प्रयोग गर्दा केही मानिसहरूले भने सावधानी अपनाउनु पर्ने हुन्छ । मधुमेह भएकाहरुले डक्टरको सुझाब लिएर मात्र अदुवाको सेवन गर्नु पर्दछ । अदुवाले रगतमा सुगरको मात्रालाइ घटाउँछ । साथै मुटुका समस्या भएकाहरुले, रगत नजम्ने समस्या भएकाहरुले पनि अदुवाको प्रयोग् गर्न डाक्टरको सल्लाह लिने गर्नुपर्दछ ।






