कायरो (इजिप्ट)- बिहीबार फ्रान्सको राजधानी पेरिसबाट कायरोका लागि उडेको दुर्घटनाग्रस्त विमानको भग्नावशेष अलेक्जेन्ड्रियाको नजिकै फेला परेको इजिप्टको सेनाले जनाएको छ ।
विमानमा ६६ जना यात्रु र चालक दलका सदस्यसहित पेरिसबाट कायरोका लागि उडेको इजिप्ट एयरको एयरबस ३२० को फ्लाइट नं ८०४ को भग्नावशेष र यात्रुका सामानहरु अलेक्जेन्ड्रिया नजिकैको भूमध्यसागरीय इलाकामा फेला परेको इजिप्टको सेना तथा ग्रीसका रक्षामन्त्रीले बताएका छन् ।
खोजीका क्रममा विमानको भग्नावशेष दुई सिट र सुटकेसहरु अलेक्जेन्ड्रियाबाट करिब २९० किलोमिटर टाढा भेटिएको इजिप्टको सेनाका प्रवक्ता ब्रिगेडियर जनरल मोहम्मद समीरले बताउनुभयो ।
आतङ्कवादी हमलाको सम्भावना
इजिप्टका नागरिक उड्ययन मन्त्री सरिफ फाथेले इजिप्टएयरको विमान वेपत्ता हुनुमा प्राविधिक भन्दा आतङ्ककारी हमला भएको बढी संम्भावना भएको बताउनु भएको छ ।
पेरिसबाट इजिप्टको राजधानी कायरोतर्फ उडेको इजिप्टएयरको सो विमानको उडेको केही समयपछि राडरसँग बिहीबार बिहान २ः४५ बजे सम्पर्क विच्छेद भएको थियो ।
बिहीबार बिहान पेरिसबाट उडेको सो विमान दुर्घटनामा परेको समाचार अपरान्ह आएको थियो ।






