काँकडभिट्टा (झापा)- जापान पठाइदिने भन्दै रु ३७ लाख बढी रकम असुल्ने झापा शनिश्चरेका राजकुमार कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
कार्कीले विर्तामोडमा सञ्चालित फास्टट्र्याक एजुकेसन कन्सलटेन्सीमार्फत झापा, इलाम, पाँचथरलगायत जिल्लाका १५ जनालाई ‘वर्किङ भिसा’मा जापान पठाइदिने भनेर रु ३७ लाख ५० हजार असुलेको प्रहरीले जनाएको छ ।
कार्की विदेशमा कामदार पठाउने कुनै अनुमति प्राप्त व्यक्ति नभएको थाहा पाएका युवा सङ्घ नेपालका कार्यकर्ताले शुक्रबार कन्सल्टेन्सीको कार्यालयमा घेराउ गरेर प्रहरीलाई खबर गरेका थिए ।
अनाधिकृत रुपमा सर्वसाधारणसँग रकम असुलेको स्वीकार गरेका कार्कीलाई सोधपुछका लागि इलाका प्रहरी कार्यालयमा राखिएको छ ।
हालसम्म असुलिएको ३७ लाख ५० हजार रुपैयाँमध्ये आधाजसो रकम काठमाडौँमा रहेको अर्का एजेन्ट यामकुमार चेम्जोङलाई पठाएको दावी गर्दै कार्कीले वर्किङ भिसामा कामदार पठाउने आधिकारिक अनुमति आफुसँग नभएको स्वीकार गरेका छन् ।






