महामन्त्री कोइराला अमेरिकामा

sashanka koiralaक्यालिफोर्निया (अमेरिका)- नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइराला झन्डै दुई साता लामो पारिवारिक भ्रमणका लागि आज बिहान अमेरिकाको न्यूयोर्क पुग्नुभएको छ ।

उहाँलाई न्यूयोर्कमा नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टलगायतले स्वागत गर्नुभएको थियो ।

सो क्रममा उहाँले कांग्रेस तत्काल सरकार परिवर्तन भन्दापनि कसरी देशमा रहेका समस्या समाधान गर्न सकिन्छ, भनी ठोस रूपमा प्रस्तुत हुन लागेको बताउनुभयो । कांग्रेस देशको सबैभन्दा ठूलो पार्टी भएको नाताले देश चलाउन खोज्नु जायज हो भन्दै महामन्त्री कोइरालाले भूकम्पबाट भएको क्षतिको पुनः निर्माण र मधेस आन्दोलनको समाधानका लागि स्पष्ट योजनासहित अगाडि बढने उल्लेख गर्नु भयो ।

यसैबीच, महामन्त्री कोइराला अमेरिकामा रहँदा नेपाली जनसम्पर्क समिति अमेरिकाभित्र केही समयदेखि जारी विवाद समाधान हुने विश्वास गरिएको छ । उहाँले अमेरिकामा रहँदा न्यूयोर्क, भर्जिनिया, टेक्सस र क्यालिफोर्नियामा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ ।