बेलायतमा नेपाली बालबालिका तस्करी गरेकोमा नेपाली संघ संस्थाको ध्यानाकर्षण

12966507_10207534116942277_370356650_n[1] लन्डन- बेलायतमा नेपाली बालबालिका तस्करी भएको ‘द सन’को विशेष रिपोर्टलाई लिएर नेपाली संघ संस्थाले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

बेलायतस्थित नेपाली उमन हेल्पिङ हृयान्ड बेलायत र नेपालको लागि अन्तर्राष्ट्रिय ऐक्यबद्धताले प्रेस बक्तव्य जारी गर्दै भूकम्पपीडित नेपाली बालबालिकालाई मानव तस्करले भारतीय बजार हुँदै बेलायतमा बेचेको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

‘यस्ता घृणित क्रियाकलापहरुमा संलग्न अन्तर्राष्ट्रिय समुदाय सम्बन्धित मुलुक र सरकारी संघसंस्थाहरुको निगरानी हुँदाहुँदै पनि बालबालिकाहरुको बेचबिखनको कुरा सुन्नमा आउनु अति दुःखको बिषय हो,’

नेपाली उमन हेल्पिङ हृयान्ड बेलायतका अध्यक्ष तारा पौडेलद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘यसरी बालबालिका बेचबिखन गर्नु राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुन, सम्झौता र नियमको आधारमा यो जगन्य अपराध हो। यस्तो आपराधिक गतिविधिमा भारतीयमात्र नभई नेपाल र अन्य मुलुकका अपराधीहरु समेत हुनसक्ने अड्कल गर्न सकिन्छ ।’

पौडेलले तस्करीमा संलग्नलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै तस्करी भएका बालबालिकाको पहिचान गरि आफन्तकोमा फिर्ता पठाउन माग गरेकी छन् । उनले बालबालिका तस्करीबारे बेलायती गृहमन्त्रीले छानबिन गर्ने प्रतिबद्धता जनाएकोमा स्वागत गरेकी छन् ।

गत वर्ष नेपालमा गएको महाभूकम्पबाट बाँचेका नेपाली बालबालिकाहरुलाई केहि भारतीय मानव तस्कर गिरोहले छानी छानी सस्तोमा (५२५० पाउण्ड) किनेर बेलायतमा दासत्वको लागि बेच्ने गरेको समाचारमा उल्लेख छ ।

नेपालको लागि अन्तर्राष्ट्रिय ऐक्यबद्धता यूके समितिले पनि नेपाली बालबालिकाको दासत्वविरुद्ध कडा आवाज उठाउने प्रतिबद्धता जनाएको छ ।

समितिले मानव बेचबिखनविरुद्धका अन्तर्राष्ट्रिय कानुनको कार्यान्वयन गर्न नेपाल सरकार, बेलायत सरकार, अन्तर्राष्ट्रिय मानव अधिकारपादी संघसंस्था तथा सम्बन्धित निकायहरुसँग मिलेर काम गर्न तयार रहेको पनि जनाएको छ ।