काठमाडौं- प्रधानमन्त्री केपी ओली राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको सट्टा उडान नै सुरु नगरेको निजी कम्पनीको विमान चार्टर गरी चीन उडेपछि क्याप्टेन विजय लामाले दुखेसो पोखेका छन् । ओली चिनियाँ र नेपाली व्यवसायीको संयुक्त लगानीमा सुरु हिमालय एअरलाइन्सबाट आइतबार चीन उडेका हुन् ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमका क्याप्टेन तथा कलाकार लामाले राष्ट्रिय ध्वजावाहक विमानलाई प्रधानमन्त्री ओलीले वेवास्ता गरेको भन्दै गुनासो पोखेका छन् । उनले यो घटनाले आफूलाई पीडा भएको उल्लेख गर्दै सोधेका छन् ‘कहिलेसम्म हेर्नुपर्छ यस्तो कुराहरु ? कहिलेसम्म सहनुपर्छ हामीले यस्तो पीडाहरु ?’
लामाले राष्ट्र र नेपालीलाई सम्मान गर्ने नेताहरु नआएको बताएका छन् । ‘नेताहरुले रास्ट्रिय ध्वजाको कदर गर्न जान्दैननु,’ उनले फेसबुक पेजमा लेखेका छन्, ‘धिक्कार्छु आफ्नो कर्मलाई यस्तो अवस्था आउँदा पनि केहि गर्न नसक्दा ।’
उनले नेताहरुको यस्तो कदम हेरेर बस्नुभन्दा अर्को विकल्प नरहेको पनि दुखेसो पोखेका छन् । ‘केही छैन अब न कि कसैलाई दोष नै दिनुु’ उनले लेखेका छन्, ‘हामी त सिर्फ ट्वाल्ल परेर हेर्ने मात्रै हो । हैन र साथीहरु ?’






