काठमाडौँ- प्रहरीले औषधि व्यवसायमा कालोबजारी गर्ने उत्पादक कम्पनी तथा सम्बन्धित चार व्यवसायीलाई आज पक्राउ गरेको छ ।
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा महानगरीय प्रहरी परिसरको प्रहरी टोलीले गरेको अनुगमनका क्रममा जनता देउराली फर्मेसिटीकल्सका निगमराज अधिकारी र निलराज आचार्य तथा लोमस फर्मेसिटीकल्सका प्रज्वलजङ्ग पाण्डे र प्रवलजङ्ग पाण्डेलाई पक्राउ गरेको हो ।
परिसरका वरिष्ठ प्रहरी उपरीक्षक विक्रमबहादुर थापाले बिरामीका आफन्त तथा उपभोक्ताबाट अति आवश्यकीय उपभोग्य औषधिमा अत्याधिक मूल्य वृद्धि भएको गुनासो आएपछि ती कम्पनीमा आज छापा मारिएको जानकारी दिनुभयो ।
उहाँले ती कम्पनीबाट उत्पादित विभिन्न औषधिमा राजपत्रमा उल्लेख गरिए भन्दा २५ देखि १०० प्रतिशतसम्म मूल्य वृद्धि गरिएकाले २०३२ को ऐनअनुसार उनीहरुलाई कारबाहीका लागि मुद्दा चलाइने बताउनुभयो ।






