काठमाडौँ- स्वर्गीय पूर्वराजा वीरेन्द्र शाहको नाममा झापा, गोरखा, लमजुङ, रुपन्देही र दाङ जिल्लामा कुनै सम्पत्ति भटिएन ।
नेपाल ट्रष्ट कार्यालयले आव २०७२/०७३ मा खोजी सुरु गरेका १० जिल्ला मध्ये ती जिल्लामा उहाँको नाममा कुनै पनि सम्पत्ति नभेटिएको कार्यालयका सचिव भीमप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “ती जिल्लाका मालपोत कार्यालयमा गई सम्पत्ति खोज्यौँ तर भेट्टाउन सकिएन ।”
उहाँले बर्दिया र बाँके जिल्लामा सम्पत्ति खोजी जारी राखेको तथा कैलाली, कञ्चनपुर र बारा जिल्लामा केही समयपछि खोजी गरिने वताउनुभयो ।
सचिव उपाध्यायले काठमाडौँ उपत्यकामा अझै स्व वीरेन्द्रको नाममा सम्पत्ति हुन सक्ने हुँदा खोजी जारी राखिने उल्लेख गर्नुभयो ।
ट्रष्टको कामका बारेमा आम नागरिकलाई जानकारी दिन वृत्तचित्र तयार पारी विभिन्न टेलिभिजनबाट प्रशारण समेत गरिएको तथा स्व वीरेन्द्रको सम्पत्तिलाई शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा प्रयोग गरिने उहाँले जानकारी दिनुभयो ।







