काठमाडौँ- नेपाल सरकारले आन्तरिक विषय र गम्भीरतालाई नजरअन्दाज गरी भारतका केही राज्यका नेताका तर्फबाट आएको भनिएको सार्वजनिक वक्तव्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति प्रकाशित गरी आजका विभिन्न पत्रपत्रिकामा भारतको विहार राज्यका नेताले नेपालको आन्तरिक मामिलाका विषयमा दिएको भनिएको वक्तव्यप्रति कडा आपत्ति जनाएको छ ।
नेपालको आजको धरातलीय यथार्थता र दुई देशको आधारभूत चासोविपरीत आएका यस्ता वक्तव्यले दुई मुलुकको समान चासो र भावनालाई टेवा पुर्याउन नसक्ने परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
तराई मधेसमा आन्दोलनरत सङ्घीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी तथा सद्भावना पार्टीका नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतोलगायतले भारतीय नेता लालुप्रसाद यादवसँग हिजो भेटगरी आफूले जारी राखेको आन्दोलनमा सहयोग गर्न आग्रह गरेको पत्रपत्रिकामा उल्लेख भएको थियो ।






