राष्ट्रपतिमाथि गरिएको दुर्व्यवहारप्रति ठाउँ–ठाउँमा विरोध प्रदर्शन

birodh-pradarshan1

काठमाडौं, पुस ५ । राष्ट्रपति विद्यादेवी भण्डारीमाथि जनकपुरस्थित जानकी मन्दिरमा गरिएको दुर्व्यवहारको प्रयास र त्यसपछि उनीमाथि मधेसी मोर्चाका कार्यकर्ताबाट सार्वजनिक रुपमा लगाइएका लाञ्छनाप्रति सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

उद्योग एवम् कार्यवाहक सूचना, सञ्चार तथा प्रविधि मन्त्री सोमप्रसाद पाण्डेद्वारा आज जारी विज्ञप्तिमा राष्ट्रपति भण्डारीमाथि गरिएको दुर्व्यवहारप्रति सरकारद्वारा दुःख व्यक्त गर्दै, दुर्व्यवहार गर्ने र असभ्य लाञ्छना लगाउनेलाई कानुनको दायरामा ल्याई कारबाही गर्ने जनाइएको छ ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘अहिलेको २१औं शताब्दीमा महिला, त्यसमाथि राष्ट्रप्रमुखको जिम्मेवारी सम्हाल्नुभएको सम्मानीय राष्ट्रपतिमाथि लगाइएको लाञ्छना असभ्यताको पराकाष्ठा, दास युगको र सामन्ती चिन्तनको उपजबाहेक केही हुन सक्दैन ।’

विवाह पञ्चमीमा राष्ट्रप्रमुख वा सरकार प्रमुख सहभागी हुने चलिआएको राष्ट्रिय परम्परालाई निरन्तरता दिने क्रममा राष्ट्रपति जानकी मन्दिरमा आयोजित समारोहमा सहभागी भएको विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘त्यस क्रममा उहाँमाथि गरिएको दुर्व्यवहारले हामीले हाम्रा भावी पिँढीलाई कस्तो संस्कार, आचरण र संस्कृति सिकाइरहेका छौँ भन्ने स्पष्ट हुन्छ, यस्ता प्रवृत्तिले तराई मधेसको संस्कृति, परम्परा, रीतिरिवाजलाई समेत आक्रमण गरेको छ ।’

यसैबीच जनकपुरमा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि भएको अभद्र व्यवहारको विरोधमा महोत्तरीको बर्दिवास बजारमा महिलाहरुले आज प्रदर्शन गरेका छन् ।

source:image khaber