वरिष्ठ पत्रकार खरेलको विदाइ

sumanतस्बिर :नरेन्द्र बस्नेत

लन्डन । गत साता बीबीसी नेपाली सेवाबाट अवकास लिएर नेपाल फर्किन लागेका वरिष्ठ पत्रकार सुमन खरेलको लन्डनमा विदाइ गरिएको छ । नेपाल पत्रकार महासंघ, यूकेले आइतबार सांझ एक कार्यक्रमबीच खरेलको विदाइ गरेको हो ।

कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री र शाखा अध्यक्ष चिरन शर्माले पुष्पगुच्छा र खादा दिएर खरेलको विदाइ गरे । उक्त अवसरमा गैर आवासीय नेपाली संघ, बेलायतको अध्यक्षमा निर्वाचित भएकामा मुछेत्र गुरुङलाई वधाइ समेत दिइयो ।

करिब दुई दशक समय बीबीसी नेपाली सेवामा काम गरेर नेपाल जान लागेका खरेलले फर्किएर बीएफबीएस गोर्खा रेडियोमा सम्पादकका रुपमा काम गर्ने जनाउंदै आफ्नो ज्ञान, सिप सञ्चार क्षेत्रमै लगाउने बताए । उनको टेलिभिजनमा साप्ताहिक कार्यक्रम सञ्चालन गर्ने योजना समेत छ ।

शाखाका वरिष्ठ उपाध्यक्ष नरेश खपांगीमगरले सञ्चालन गरेको उक्त कार्यक्रममा कार्यवहाक राजदूत क्षेत्री, बीबीसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपाली र एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङले मन्तव्य दिंदै पत्रकारितामा खरेलको योगदानको चर्चा गरे भने स्वागत मन्तव्य सल्लाहकार भगिरथ योगीले दिएका थिए ।