मोरङ- पछिल्ला दुई खेलमा अंक बाँडेको रुस्लान थ्री स्टार क्लबले बुद्ध एयर मोरङलाई ४–१ को पराजित गरेको छ। १–० ले खेलमा पछि पर्नाका बाबजुद सन्तोष साहुखलको ह्याट्रिकप्रेरित थ्री स्टारले नतिजा उल्टाएको थियो।
ह्याट्रिकसँगै सबैखाले लिग (राष्ट्रिय र ए डिभिजन) मा गरी सन्तोषको गोलसंख्या १ सय ४ पुगेको छ। २०६७ को लिगका क्रममा ५० गोल पूरा गरेका उनले त्यसयता ५४ गोल गरिसकेका छन्।
दुवै टोली आक्रामक रूपमा प्रस्तुत हुँदा पहिलो सफलता घरेलु टोलीलाई मिल्यो। २७ औं मिनेटमा टेकबहादुर लिम्बुले गोल गरे। डोना थापाको क्रस उपयोग गर्दै टेकले सुरुआती अग्रता दिलाए। पहिलो हाफको इन्जुरी समयमा आफिज ओलावालेको गोलबाट थ्री स्टार खेलमा फर्केको थियो। सन्तोषको पासमा उनले बराबरी गोल गरेका थिए।
अन्तिम १३ मिनेटमा सन्तोषले ह्याटि्रक गरेपछि थ्री स्टार फराकिलो नतिजा निकाल्न सफल भयो। सन्तोषले पेनाल्टी गोलबाट खाता खोले। मोरङका निरज बस्नेतले सन्तोषलाई डी बक्समा लडाएपछि थ्री स्टारले पेनाल्टी पायो। अन्तिम मिनेटमा सन्तोषले फ्रिकिकमार्फत गोल थपे। तेस्रो गोल पनि सन्तोषले पेनाल्टीबाटै गरे। विपक्षी खेलाडीले जगजित श्रेष्ठलाई पेनाल्टी बक्समा लडाएपछि फिफा रेफ्री सुदीश पाण्डेले थ्री स्टारलाई पेनाल्टी दिएका थिए। तर, त्यो निर्णय विवादरहित भने भएन। एकतर्फी खेलाएको भन्दै दर्शक फिफा रेफ्रीमाथि जाइलागेका थिए।
मोरङका प्रशिक्षक पारस चौधरीले म्याच कमिस्नरसामु अर्को खेलमा पाण्डेलाई नराख्न र बिहीबारको खेलमा केही गलत निर्णय दिएको भन्दै उजुरी दर्ता गराएका छन्।






