अमेरिकाका नेपालीद्वारा नयाँ संविधानको स्वागत, वेष्टहार्टर्फटमा देखियो अभूतपूर्व नेपाली एकता

प्रकाश शाह

अमेरिकाका नेपालीद्वारा नयाँ संविधानको स्वागत, वेष्टहार्टर्फटमा देखियो अभूतपूर्व नेपाली एकता

अमेरिका (वेष्ट हार्टर्फड) , असोज ४/अमेरिकाका नेपालीहरुले एकजुट भएर संघीय गणतन्त्र नेपालको नयाँ संविधान २०७२ को स्वागत गरेका छन् । नेपालभित्र एक पक्षद्वारा विरोध भइरहेका बेला अमेरिकाका नेपालीहरुले भने अभूतपूर्व एकता प्रदर्शन गर्दै एकसाथ नयाँ संविधानको स्वागत गरे ।

अमेरिकी कनेक्टिकट नेपाली समाजद्धारा नेपालको संविधान २०७२ लाई दिप प्रज्जवल कार्यक्रम गरि भव्य रुपमा स्वागत गरेको हुन । झण्डै एक दशकपछि मुलुकले नयाँ संविधान पाएपछि यता प्रवासी नेपालीहरुले एक जुट भई खुशी व्यक्त गर्नुका साथै दिप प्रज्वलन मार्फत स्वागत गरेका हुन् ।

अमेरिकाको कनेक्टिकट राज्यको वेष्ट हार्टर्फडस्थित जोन अफ कनेडी पार्कमा आयोजित दिप प्रज्जवलन कार्यक्रममा बोल्दै कनेक्टिकट नेपाली समाजका अध्यक्ष शंकर ढकालले भने, ‘सबैको चित्त बुझ्दो नभएता पनि लामो राजनीतिक अस्थिरतापछि बन्न पुगेको नेपालको संविधिान २०७२ लाई हामी सबैले स्वागत गर्न अपरिहार्य छ ।’ विकल्पविहिन संकटको घडिमा उभिएको नेपाललाई शान्ति, स्थायीत्व र समृद्धिको बाटोमा अघि बढ्न र राजनीतिक अस्थिरताको जालो तोड्न यो संविधान साधक भएको उनले बताए । 

संविधान देशको मुल कानुन भएकाले स्थायी कानुन बिना मुलुक लामो समय चल्न नसक्ने भएकाले अहिलेको संविधानले समेट्न नसकेका विषयहरुलाई संशोधनको प्रक्रियाबाट सम्पूर्ण जनताको अधिकार स्थापित हुने तरिकाले अगाडि बढ्न राजनीतिक नेतृत्वलाई आग्रह समेत गरे । नेपालको नक्सा अंकित चित्रबीच नेपालको संविधान २०७२ मा दिप प्रज्जवलन गरिएको थियो ।

कार्यक्रममा बोल्दै समाजका सदस्य तथा प्रवासी नेपाली संघ -एनआरएन) च्याप्टर कनेक्टिकटका सदस्य रामकुमार सुवेदीले शान्ति, समृद्धि र स्थायीत्वका खातिर सात दशक लामो त्याग तपस्या, उत्सर्ग र बलिदानबाट आर्जित नयाँ संविधानलाई सबैले स्वागत तथा रक्षा गर्नुपर्ने बताए । ‘लामो कालखण्ड पश्चात आज नेपालीहरुको चाहना पुरा भएको छ,’ उनले उक्त अवसरमा स्वदेशी तथा प्रवासी नेपालीहरुलाई बधाई तथा शुभकामना दिदै भने, ‘संविधान एक परिवर्तनशिल दस्तावेज हो, देश र जनताको भावना तथा अपेक्षासँगै समयानुकूल र सान्दर्भिक बनाउन सकिन्छ ।’ उनले सबैले नेपालीले आ-आफ्नो ठाउँबाट संविधान मार्फत उपलब्धीको रक्षा गर्दै छुटेका हक अधिकारहरुलाई समेट्न प्रयत्नरत हुनुपर्ने भन्दै बन्द हड्ताल जस्ता आन्दोलन छोडी शान्तिको बाटो रोज्न सम्बन्धि पक्षलाई अनुरोध समेत गरेका छन् ।

कनेक्टिकट नेपाली समाज र एनआरएन च्याप्टर कनेक्टिकटको संयुक्त आयोजनामा सम्पन्न दिप प्रज्जवलन कार्यक्रममा बाल बालिकादेखि वृद्ध वृद्धासम्म झण्डै ३ सय नेपालीको उपस्थिति थियो । नयाँ संविधानमा नेपाली राष्ट्रिय पोशाक ढाका टोपी र दौरा सुरुवाल मान्य नभए पनि कार्यक्रमका अधिकांश पुरुषहरु सो पोशाकमा उपस्थिति थिए । हात हातमा मैनवत्ती र नेपाली झण्डा फहराउँदै दिप प्रज्वलन एक आफसमा खुशी साटासाट गरिएको थियो । स्वदेशमा जाति जनजातिको अधिकारको सवाल उठि रहेका बेला यता प्रवासमा भने सबै जातजाति एक भई कार्यक्रमको शोभा बढाउनुका साथै एकीकृत देखिएका छन् ।