नेपाली कांग्रेसका युवा नेता गगन थापाले ‘संविधानको मस्यौदामा जनताले दिएको सुझाव कार्यान्वयन हुने अवस्था नरहेको’ भन्दै ‘यो एउटा नाटक जस्तो मात्र भएको’ टिप्पणी गरेका छन् । कांग्रेस केन्द्रीय सदस्य एवं सभासदसमेत रहेका थापाले ‘दुई दिनमा वास्तविक सुझाव संकलन पनि नहुने र जनताले दिएका सुझावलाई राखेर संविधानसभाले मस्यौदालाई अन्तिम रुप दिने सम्भावना पनि कम रहेको’ बताए ।
शनिबार पाल्पाको तानसेनमा सन्चारकर्मीहरुसँग उनले ‘करिब डेढ अर्ब सकाएर संकलन गरिने सुझाव संविधान निर्माण कार्यतालिकाकै कारण पनि समेटिन नसक्ने भएकाले नाटक जस्तो मात्र हुने’ बताएका हुन् ।
‘जनताबाट संविधान अनुमोदन गर्यौ भन्नका लागि मात्र सुझाव संकलन भइरहेकाले कार्यान्वयनका लागि जनदबाब नै आवश्यक पर्ने’ उनले उल्लेख गरे ।
संघीयताको नामांकन र सीमांकन बिना आउने संविधान कार्यान्वयन हुन नसक्ने भन्दै उनले मस्यौदाप्रति अदालतदेखि आम जनतासम्मको असन्तुष्टि रहेको टिप्पणी गरे ।
जनताको सुझाव संकलन नाटक मात्र : गगन थापा






