पुनर्निर्माणका लागि “चारिटी डिनर नाइट”को तयारी तीब्र चर्चित कलाकारले प्रस्तुति दिने

लन्डन— समुदायिक एकता र सहयोगको भावनालाई सुदृढ पार्दै सिएनसिबिजीले यही आउँदो अक्टोबर २६, आइतबार, एम्पायर हल अल्डरसटमा एक भव्य कार्यक्रम “ग्राण्ड चारिटी डिनर नाइट” आयोजना गर्न लागेको छ।


कार्यक्रमको मुख्य उद्देश्य गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका भौतिक संरचनाहरूको पुनर्निर्माणका लागि सहयोग जुटाउनु र गोर्खा तथा तिनका सन्तानहरूको नेपाली नागरिकता निरन्तरता अभियानलाई समर्थन गर्नु रहेको बताइएको छ।

सिएनसिबिजीका अध्यक्ष थर्क रानाका अनुसार कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ। विभिन्न संघ–संस्थाहरू र व्यक्तिहरूबाट बुकिङ र सहयोगका लागि उत्साहजनक प्रतिक्रिया प्राप्त भइरहेको पनि उनले बताए।
कार्यक्रममा नेपाल दूतावास, लन्डनबाट द्वितीय सचिव सन्जोग राईलगायत प्रतिनिधिहरूको सहभागिता रहनेछ। उक्त दिन अल्डरसटको बजार क्षेत्रमा आफन्त र समुदायका सदस्यहरूसँग भेटघाट गर्ने अवसर मिल्नेछ। साथै, चर्चित गायिका कामना ओली, नृत्याङ्गना अश्मिता पुरी र स्थानीय कलाकारहरूले प्रस्तुत गर्ने सांगीतिक तथा नृत्यात्मक कार्यक्रमले चारिटी डिनर नाइटलाई झनै रंगीन बनाउनेछन्।
अध्यक्ष रानाले भने, “यो च्यारिटी नाइट केवल सहयोग संकलनको माध्यम होइन, देश संकटमा परेका बेला हाम्रा भूमिका र साझा समस्याको समाधानका उपायबारे सौहार्दपूर्ण छलफल गर्ने अवसर पनि हो।”
कार्यक्रममा सहभागी हुन वा सहयोग गर्न इच्छुकहरूका लागि रजिस्ट्रेशन फर्म अझै खुला रहेको जानकारी आयोजकले दिएका छन्।