भरत पाण्डे,
काठमाण्डौ २६ असार । गुल्मी जिल्लाबाट बेलायतमा बसेका नेपालीहरुले दुवै मृगौला फेल भएर उपचार गरीरहेका गुल्मी धुर्कोट रजस्थलका रोमलाल भण्डारीको उपचारका लागि १ लाख ६० हजार रुपैयाँ सहयोग गरेका छन।
बेलायतमा रहेका गुल्मेलीहरुको संस्था गुल्मी जिल्ला समाज युके मार्फत संकलन गरीएको सहयोग रकम शनिबार पिडीतलाई हस्तान्तरण गरीएको छ । समाजका कार्यकारी सदस्य राम प्रसाद सापकोटाले भण्डारीकी श्रीमति कल्पना भण्डारी र बुबा यूवराज भण्डारीलाई काठमाण्डौमा आयोजीत एक कार्यक्रममा सहयोग रकम हस्तान्तरण गर्नुभयो ।
रकम हस्तान्तरण गर्दै सापकोटाले आफूहरु विदेशमा रहेपनि आफ्नो गाउँठाउँमा आर्थिक अभावमा उपचार समेत हुन नसकेर छटपटाईरहेका दाजुभाई दिदीबहिनीहरुलाई सहयोग गरी बचाउन बेलायतमा रहेका गुल्मेलीहरु लागि परेको बताउनुभयो । उहाँले जन्मभूमिको मायाले गर्दा आफूहरु विदेशमा भएपनि थोरै थोरै रकम संकलन गरी नेपालमा गरीव, दुखि, अनाथ, अपाङ्ग तथा विरामीहरुका लागी सहयोग गर्ने गरेको बताउनुभयो । उहाँले समाजले व्यक्तिगत रुपमा आर्थिक सहयोगमात्र नभई सामाजि आर्थिक क्षेत्रमा सर सहयोग गरीरहेको बताउनुभयो ।
गुल्मी जिल्ला समाज यूकेका सचिव शिव भण्डारीको संयोजन र यूकेमा रहेका धुर्कोट रजस्थल निवासी बाबुराम भण्डारीको प्रस्तावमा यूके समाजले रकम संकलन गरेको थियो । धेरै रकम संकलन गर्ने उद्देश्य भएपनि अभियान चलिरहेको बेला नेपालमा महाभुकम्प गएपछि सबै भूकम्पीडितको राहतका लागि केन्द्रीत हुँदा यसतर्फ बढी केन्द्रित हुन नसकिएको माहासचिव राम गलामीले बताउनु भयो । हस्तान्तरण पछि प्रतिक्रिया दिदै गुल्मी समाज युकेका अध्यक्ष अर्जुन गौतमले भण्डारीको सफल उपचारको शुभकामना दिनु भयो |
यस अघि गुल्मी मजुवाका मृगौला पिडित मोहन रजालीको सहयोगार्थ युकेका गुल्मेलीहरुले संकलन गरेको ३ लाख ६० हजार रुपैया गत हप्ता काठमाडौमा हस्तान्तरण गरिएको थियो ।
धुर्कोट रजस्थल समाजले काठमाण्डौको एआईए स्कूलमा गरेको रकम हस्तान्तरण कार्यक्रममा प्रमुख अथिती गुल्मीका पूर्व साँसद रुद्रमणी भण्डारीले विदेशमा केही आम्दानी गर्न सक्नेहरुले आफ्नो गाँस काटेर भएपनि गाउँका विरामीहरुलाई सहयोग गरेकोमा धन्यवाद दिनुभयो । उहाँले देश छोडेर टाढा रहेकाहरुले पनि गुल्मेली समाज यूकेमार्फत एकजुट भएर आफ्नो मातृभूमिको लागि ठूलो सहयोग गरेको भन्दै आगामी दिनमा गाउँका विकासका काममा पनि सहयोगका लागि आह्वान गर्नुभयो । भण्डारीले देशमा अहिले राजनीतिका कारण हजारौँ यूवाको भविष्य अन्धकारमय भएकोले यूवाहरुलाई नेताका पछि नलागी आफ्नो भविष्य बनाउनपट्टी लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा गुल्मी धुर्कोट रजस्थल समाज काठमाण्डौका संस्थापक अध्यक्ष लेखनाथ घिमीरे तथा समाजका सल्लाहकार विमल घिमीरेलेले गुल्मेलीहरुको एकताका कारण देश र विदेशमा लाखौँ रकम जुटाई मृगौला पिडीत रोमलालको जीवन बचाउन सफल भएको बताउनुभयो ।
मृगौला पिडीत भण्डारीको भर्खरै मात्र आफ्नी आमा देवकला भण्डारीले दिएको एउटा मृगौला प्रत्यारोपण गरी मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचार भैरहेको छ । मृगौला प्रत्यारोपणको समयसम्म ऋणधन गरेर उपचार चलाएपनि अप्रेसन पछि आमाछोरा दुवैको स्वास्थ्य झन संबेदनशिल हुने भएको र खर्च पनि बढी हुने भएकोले यसका लागि सहयोग गरीदिन उहाँका भाई महेन्द्र भण्डारीले सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रमका अध्यक्ष धुर्कोट रजस्थल समाजका अध्यक्ष लुमाकान्त भण्डारीले रकम संकलन गरी सहयोग गर्ने यूके समाजका सम्पूर्ण पदाधिकारी तथा सहयोग ल्याईपुर्याउने कार्यकारी सदस्य राम प्रसाद सापकोटा र सम्पूर्ण यूके बासी गुल्मेलीलाई धन्यवाद दिनुभयो ।
कार्यक्रमको सञ्चालन गर्दै समाजका सचिव यदुराम पन्थीले गुल्मी समाज यूकेले आगामी दिनमा गुल्मीमा अन्य शैक्षिक, सामाजिक र आर्थिक उन्नतीका क्षेत्रमा पनि सहयोग गर्ने अपेक्षा राख्नुभयो ।
बेलायतमा रहेर जिल्लाको विकासका लागि क्रियाशिल रहेको गुल्मी जिल्ला समाज बेलायतमा रहेका सामाजिक संस्थाहरुमध्ये अग्रणी स्थानमा रहेको छ ।








