लन्डन । बेलायतमा स्थायी रूपमा बसोबास गरिरहेका बृटिश नागरिकता प्राप्त गोर्खा सैनिक र तिनका सन्ततिहरूका लागि वंशजको नेपाली नागरिकता निरन्तरता सुनिश्चित गर्नुपर्ने माग राख्दै Continuation of Nepali Citizenship for British Gurkhas (CNCBG) को प्रतिनिधिमण्डलले लन्डनस्थित नेपाली राजदूतावासमा महामहिम राजदूत चन्द्रकुमार घिमिरेसँग महत्वपूर्ण भेटवार्ता गरेको छ ।
बिहिबार दिउसो CNCBG अध्यक्ष श्री थर्क रानाको नेतृत्वमा गएको टोलीले नेपालको संसद र गृह मन्त्रालयसमक्ष बुझाइसकेको ज्ञापनपत्रबारे स्पष्ट समर्थन माग्दै दिउँसो २:३० देखि ४:०० बजेसम्म साढे डेढ घण्टा लामो छलफलमा भाग लिएको थियो।
राजदूतज्यूको कार्यकाल भर्खर सुरु भएको र वहाँसँग पहिलो भेट भएकोले महामहिम सभा कक्षमा पस्नुभएपछि वहाँको कार्यकाल सफल रहोस भन्दै संस्थाको तर्फबाट अध्यक्ष थर्क रानाले स्वागत गर्दै बधाई, शुभकामना र फूलको गुच्छा दिएपछि त्यहाँ उपस्थित सबैले बधाई तथा शुभकामना दिनु भएको थियो कार्यक्रम सफल बनाउन सहयोग गर्ने महामहिम राजदूतज्यू, दूतावास सचिव दिनेश आचार्य तथा अनुपस्थित रहेपनि तयारीमा महत्वपूर्ण भूमिका निभाएका महासचिव भक्त राना प्रति पनि आभार व्यक्त गरिएको थियो ।
दूतावासमा ज्ञापनपत्र बुझाउन निम्नलिखित व्यक्तित्वहरुको उपस्थिति थियो: श्री थर्क राना अध्यक्ष CNCBG, श्री होम थापा अध्यक्ष भूपू सैनिक कल्यणकारी समिति नेपाल, श्री लाल बहादुर (लालु) पुन अध्यक्ष मगर संघ यूके, सल्लाहकार CNCBG, मे.(रि) बिरु सुनुवार सल्लाहकार CNCBG, (क्या.(रि) रणधोज राना सल्लाहकार CNCBG, क्या.(रि) रुकुम राना सल्लाहकार CNCBG, मे.(रि) कुल बहादुर थापा पूर्व अध्यक्ष मगर संघ यूके, सल्लाहकार सिएनसिबिजि, मे.(रि) भिम बहादुर गुरुङ MVO, पुर्व अध्यक्ष खोसोभो, सल्लाहाकार CNCBG, ले.(रि) ललित गुरुङ सल्लाहकार CNCBG, श्री दल बहादुर बुढाथोकी उपाध्यक्ष CNCBG, श्री शोभराज घोतने गुरुङ उपाध्यक्ष CNCBG, अध्यक्ष रुम्झाटार समाज, श्री मोहन गुरुङ मिडिया सेक्रेटरी CNCBG, श्री जित घर्ति मगर सचिव CNCBG, श्री दिर्ग गुरुङ सह प्रवक्ता CNCBG , श्री कृष्ण राई केन्द्रिय सदस्य cncbgर श्री कर्ण दर्लामी मगर केन्द्रिय सदस्य CNCBG ।
गोर्खा र तिनका सन्ततिहरूको नागरिकता विषयमा कानुनी अस्पष्टता हटाउन माग:
कार्यक्रमको सुरुवातमा अध्यक्ष रानाले महामहिम राजदूतज्यूलाई खदा र फूलको गुच्छासहित स्वागत गर्दै कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका थिए। छलफलको केन्द्रमा नेपाल नागरिकता ऐन, २०६३ को दफा १०(१) र दफा ३(१)(४)(क) को कानुनी अन्तर, व्याख्या र प्रभावबारे गहिरो विमर्श गरिएको थियो।
CNCBG को तर्क अनुसार, गोर्खाहरूले लिएको बृटिश नागरिकता कुनै “आफूखुसी विदेशी नागरिकता” नभई नेपाल सरकारकै सहमति, सन्धी र ऐतिहासिक बन्दोबस्त अन्तर्गत प्रदान गरिएको नागरिकता हो। सन् १९४७ को त्रिपक्षीय सन्धि (नेपाल–भारत–बेलायत) र त्यसअन्तर्गतको सैन्य सेवा राज्य–प्रेरित कानुनी दायित्व भएकाले, नागरिकता ऐनको दफा १०(१) लाई गोर्खाहरूमा लागू गर्नु अन्यायपूर्ण हुने प्रष्ट तर्क CNCBG ले प्रस्तुत गर्यो ।
CNCBG को भनाइमा, “दफा १०(१) नै गोर्खा वंशजको नागरिकतालाई रोक्ने मूल गेट हो। त्यो गेट खुलाउन नसकेसम्म दफा ३ मा गरिने कुनै पनि संशोधन निष्प्रभावी हुनेछ ।” अतः, गोर्खाहरूका वंशजलाई पूर्ण नागरिकता सुनिश्चित गर्न पहिले दफा १०(१) को संशोधन आवश्यक रहेको प्रष्ट तर्क राखियो ।
दफा ३(१)(४)(क) पर्याप्त छैन, मूल समस्या दफा १०(१) मै छ:
CNCBG ले दफा ३(१)(४)(क) वंशज नागरिकताको व्यवस्था भए पनि, गोर्खाहरूको सन्दर्भमा त्यो लागू हुन नसक्ने दाबी गर्यो । कारण — गोर्खाको विषय NRN जस्तो व्यक्तिगत रोजाइ नभई ‘राज्य–प्रेरित सेवा’ अन्तर्गतको ऐतिहासिक कानुनी स्थिति हो ।
राजदूतज्यूको गहिरो चासो र सकारात्मक प्रतिबद्धता
कार्यक्रममा सह–प्रवक्ता श्री दिर्ग गुरुङले ज्ञापनपत्र वाचन गरेका थिए भने सचिव श्री जित घर्ती मगरले कार्यक्रम सञ्चालन गरेका थिए। सहभागी संघसंस्थाका प्रतिनिधिहरूले गोर्खाको इतिहास, बलिदानी र वर्तमान राज्य व्यवस्थाले गोर्खाहरुप्रति गरेको व्यवहारबारे धारणा राखेका थिए । छलफलपछि महामहिम राजदूत घिमिरेले भावुक हुँदै प्रतिक्रिया दिँदै भन्नुभयो – “तपाईंहरूको कथा प्रत्यक्ष रूपमा सुन्न पाउँदा गहिरो चासो लागेको छ । यो विषय नेपाल सरकारमा जिम्मेवारीका साथ पठाउनेछु । त्यसपछि फेरी पनि छलफल गरौंला ।”






