सिड्नी । गैर आवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको निर्वाचन आगामी जुलाई २६ शनिबार हुने भएको छ । एनआरएनएले ११ मे आइतबार पत्रकार सम्मेलनको आयोजना गरी उक्त विषयको जानकारी गराएको हो । एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले वर्तमान कार्यसमितिको पदावधि सकिन लागेकाले पुन : दुई वर्षे कार्यकालका लागि निर्वाचन गर्न लागिएको जानकारी गराए ।
निर्वाचन सम्पन्न गर्न डिल्ली ढकाल निर्वाचन प्रमुख आयुक्त रहेको समिति गठन गरिएको छ । जसको उपसंयोजकमा राजु उपाध्याय रहेका छन् । त्यस्तै स्टेट तर्फपनि निर्वाचन संयोजक तोकिएको छ । जसमध्ये न्यूसाउथवेल्सका लागि राजु मानन्धर, भिक्टोरियामा हेम दुलाल, क्वीन्सल्याण्डबाट सुरेश खत्री, साउथ अष्ट्रलियाबाट अंकुर उपाध्याय, वेष्टर्न अष्ट्रेलियाबाट रविन वर्तौला, तास्मानियामा कन्चन अर्याल र एसिटीबाट कृष्ण सुवेदी तथा नर्दन टेरोटरीबाट दिनेश सापकोटालाई निर्वाचन संयोजक चयन गरिएको छ । अन्य सदस्यहरु निर्वाचन आयोग र एनआरएनले थप गर्ने बताइएको छ । एनआरएनए अस्ट्रेलियाको नयाँ विधान अनुसार अब देखि अध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष पदमा निर्वाचन हुनेछ ।
विगतका वर्षहरुमा राज्य संयोजक र उपसंयोजक रहनेगरेपनि उक्त व्यवस्था बमोजिम उपसंयोजक भने हटाईएको छ । पत्रकार सम्मेलन मार्फत सदस्यता शुल्क वृद्धि गरिएको जानकारी गराईएको थियो । जसमध्ये सदस्यता शुल्क ३० डलर पुर्याईएको छ । आजीवन सदस्यता शुल्क २ सय ५० तोकिएको छ । एनआरएनए अस्ट्रेलियामा करिब १६ हजार सदस्य रहेका छन् ।






