लण्डन । गोरखा भूतपूवै सैनिक संस्थाहरुको संयुक्त आयोजनामा आइतबार अल्डरसटमा हुने भनिएको सभामा विवाद देखिएको छ ।
आयोजकहरुले गोरखा भूतपूर्व सैनिकहरुको संस्थाहरुको अस्थायी संयन्त्र जी १० ले सो कार्यक्रम आयोजना गरेको बताएका थिए । सोही व्यहोराको पर्चा पनि सार्वजनिक गरिएको थियो । तर सोही संयन्त्रभित्रको गोरखा सत्याग्रहले भने सो कार्यक्रम जी १० ले आयोजना नगरेको बताएको छ । (फाइल फोटो)
गोरखा दुत मेजर रिटायर्ड जुदबहादुर गुरुङले शनिबार सञ्चारकर्मीहरुसित कुरा गर्दै सो कार्यक्रम जी १० ले आयोजना नगरेको बताएका छन् । उनले जी १० का तर्फबाट गरिने कुनै पनि कार्यक्रम आफूमार्फत हुनुपर्ने यसअघि सबै गोरखासँग सम्बन्धित संस्थाहरुले सहमति गरिसकेको र आइतबारको कार्यक्रमका बारेमा आफूलाई कुनै जानकारी नभएको बताएका छन् ।
उता कार्यक्रम आयोजकहरुले भने लेटरप्याड नै बनाएर सोमार्फत कार्यक्रममा उपस्थित हुन अपील गरेका छन् । सबै गोरखाजन्य संस्थाको नाम, आधिकारिक व्यक्तिको नामसमेत प्रकाशित सो अपीललाई कसरी आधिकारिक नमान्ने भन्ने प्रश्नमा गुरुङले जी १० को लेटरप्याड बनिनसकेको जानकारी दिए । यसअघि अल्डरसटमा बसेको एक बैठकमा लेटरप्याड बनाउने विषयमा गोरखाहरुबीच सहमति हुन नसकेको पनि उनले स्मरण गराए ।
आइतबारको कार्यक्रम जी १० को नभई गोरखा भूतपूर्व सैनिक संघ (गेसो) र ब्रिटिश गोरखा वेलफेयर सोसाइटी (बिजीडब्ल्यूएस) को भएको पनि मेजर गुरुङले बताए ।
कार्यक्रमका आयोजकले सार्वजनिक गरेको अपीलमा सो कार्यक्रममा बेलायतका लागि नेपाली राजदुतसमेत उपस्थित हुने बताइएको छ । आचार्य भने अहिले नेपालमा विदामा रहेको बुझिएको छ ।
गोरखा भूतपूर्व सैनिकहरुबीच कार्यगत मात्र भए पनि एकता कहिल्यै हुनसक्दैन भन्नेहरुलाई यो पछिल्लो घटनाले झन् पुष्ट गरेको छ । बेलायतसित पहिलोपटक सरकारीस्तरमा वार्ता भइरहेको बेलामा समेत गोरखा भूतपूर्व सैनिकका संस्थाहरुले एकता कायम गर्न नसकेपछि बेलायतलाई उनीहरुको माग टार्न अझै सजिलो हुनसक्छ ।
उता, गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले पनि उक्त आमसभामा आफूहरुको संलग्नता अस्वीकार गरेको छ । जी टेनको आयोजना भनिएकोमा खण्डन गर्दै सत्याग्रहले वार्ता प्रगतिबारे आफ्नै ढंगले जानकारी सभा गर्दै आएको र अहिले जानकारी नै दिनुपर्ने कुनै ‘अपडेट’ नभएको जनाएको छ ।
सत्याग्रहका प्रमुख संयोजक कृष्णबहादुर राईले बिना सरसल्लाह आफूहरु समेत संलग्न जी टेनको नाम जोडेर अहिले गलत अपव्याख्या भइरहेको बताए ।






