अभिनयमा राजेश हमाल र पाश्र्वगायनमा राजेशपायल राईले जसरी आफ्नो उचाइ कायम गरेका छन्, मित्रतामा पनि उनीहरू मानक मानिन्छन्। विभिन्न समयमा देखा परेका प्रतिस्पर्धीलाई उछिन्दै लामो समय आआफ्नो क्षेत्रमा राज गरेका उनीहरू एकअर्काको प्रशंसा गरेर थाक्दैनन्। के भन्छन् त दुई राजेश एकअर्काका बारेमा:

१७/१८ वर्षअघिको कुरा हो। म्याग्दीमा आयोजित कार्यक्रममा राजेशपायल राईसँग पहिलोपटक भेट भएको सम्झना छ। त्यस बेला ‘फैलियो माया दूबो सरी’ गीत हिट थियो। मलाई यो गीत मन पर्ने। गायक को भन्ने थाहा थिएन। कार्यक्रममा उहाँ पनि आउनुभएको रहेछ। मन पर्ने गीतको गायक भएकाले पहिलो भेटमै राम्रो चिनजान भयो।

मैले उहाँको गीतमा पहिलो पटक २०५३ सालतिर चलचित्र ‘आफ्नो बिरानो’मा काम गरेँ। ‘त्यो मायाले यो मायालाई बल्ल चिन्यो’ बोलको गीत निकै मीठो थियो।

मैले अभिनय गरेकामध्ये छायांकन गर्न सबभन्दा बढी समय लागेको गीत पनि हो। इलामको फिक्कलमा छायांकन थियो। एक सट् दिन पाएको छैन, हुस्सु लाग्ने। छायांकन पूरा गर्न १४ दिन लागेको थियो। मैले अभिनय गरेको दर्जनौं चलचित्रमा उहाँले गाउनुभएको छ।

चलचित्रमा मलाई राजेशपायलको स्वर सहज र सुहाएजस्तो लाग्छ। ममात्रै होइन, निर्माता निर्देशकले पनि मेरो लागि राजेशपायलकै स्वर चाहिन्छ भनेको सुनेको छु। उहाँले गाएको, मैले अभिनय गरेको धेरै गीत पपुलर भएका छन्।

केही गीत मलाई असाध्यै मन पनि पर्छ। चलचित्र ‘युगदेखि युगसम्म २’ मा समेटिएको ‘न कुनै बन्धन न कुनै परिधि’ बोलको गीत डमी भ्वाइसमा छायांकन गरेका थियौं। पछि राजेशपायलजीले यो गीत सेक्सी भ्वाइसमा गाउनुभएछ। चलचित्र हेर्दा म कति नतमस्तक भएँ भने उहाँलाई फोन गरेर ‘साँच्चिकै गजब गाइदिनु भएछ’ भनेर आभार प्रकट गरेँ।

कुनै पनि कलाकार लामो समयसम्म टिक्न भर्सटाइल र मासमा लोकप्रिय हुनुपर्छ। त्यो खुबी राजेशपायलमा छ। स्वर जति मीठो छ, स्टेजमा दर्शकसँग साक्षात्कर गर्ने शैली त्यत्तिकै अब्बल छ।

मैले पनि देशविदेशमा उहाँसँग धेरै स्टेज पर्फमेन्स गरेको छु। खुब रमाइलो हुन्छ। हाम्रो संगत र सेन्स अफ ह्युमर सारै मिल्छ। जीवनमा धेरै समय हामीले सँगै बिताएका छौं।

मेरो विवाह भएपछि एउटा राजेशको त पार भयो, अर्को राजेशको कहिले हो भन्ने छ। कफी गफ गर्ने क्रममा म उहाँलाई विवाह गर्ने भए चाँडै गर्नुहोस्, नगर्ने निर्णय हो भने त भइहाल्यो भनेर सल्लाह दिन्छु।

विवाह विचार पुर्‍याएर गर्नुपर्छ। आफ्नो व्यवसाय, आनीबानीदेखि जीवनको लय बुझ्ने मान्छे हुनुपर्छ।

मलाई लाग्छ, मधुसँग भेट नभएको भए सायद मेरो विवाह हुने थिएन। लामो समयको चिनजान र समझदारीका कारण अहिले हाम्रो वैवाहिक जीवन सानदार भएको छ।

त्यसैले म राजेशपायलजीलाई पनि भन्छु, विवाह आकर्षणको भरमा गर्न हुन्न।

राजेश पायल राई
सायद १८ वर्षअगाडिको कुरा हो। सोल्टीमोडस्थित इशानी क्लबमा आयोजित कार्यक्रममा म, रामकृष्ण ढकाल, यम बराल गएका थियौं। राजेश हमाल पनि आउनुभएको रहेछ। त्यति बेलै उहाँको क्रेज लोभलाग्दो थियो। म पनि ठूलो फ्यान। मैले उहाँलाई पहिलोपटक भेटेको त्यहीँ हो।

शम्भुजित बास्कोटाको संगीतमा चलचित्र ‘आफ्नो बिरानो’ को गीत गाउन मुम्बई गएका बेला चलचित्रमा राजेश हमालले अभिनय गर्ने भनेपछि खुसीले गद्गद् भएको थिएँ। सायद म त्यो रात खुसीले राम्ररी निदाउन पनि सकिनँ।

एकपछि अर्को गर्दै मैले उहाँका धेरै चलचित्रमा गाएँ। दर्शकले ‘भ्वाइस म्याचिङ’ भन्छन्। मेरो पाश्र्व गायनमा राजेश हमालको सफल अभिनय यात्राको पनि ठूलो भूमिका छ।

‘मलाई पनि अंग्रेजीमा बोल्न सिकाइदेऊ न’, ‘यो रातै रमाइलो यो साथै रमाइलो’, ‘कालो कालो कपालैमा मेहन्दी लगायौ’, ‘न कुनै बन्धन न कुनै परिधि’, ‘छनछन छनछन’, ‘तिम्रो हाम्रो चिनारी’, ‘मेरो यो मनको पानामा’देखि पछिल्लो चलचित्र हँसियाको ‘मूल बाटो छोडी अन्त्यै’सम्म आइपुग्दा उहाँ अभिनीत दर्जनौं चलचित्रमा मैले गाएको छु।

राजेश हमालमा जुन संस्कार, शिक्षा र अध्ययनशील बानी छ, त्यसले उहाँलाई सफलताको शिखरमा पु:याएको हो। उहाँजस्तो भर्सटायल नायक नेपाली चलचित्रमा कमै छन्।

‘रिजर्भनेस’ उहाँको अर्को विशेषता हो। यसले राजेश हमालको क्रेजलाई कहिल्यै कम हुन दिएको छैन। उहाँ मभन्दा सिनियर भएकाले मलाई त्यत्तिकै माया पनि गर्नुहुन्छ।

मैले उहाँबाट धेरै कुरा सिकेको पनि छु। जीवनको महत्त्वपूर्ण क्षणमा हामीले एकसाथ समय बिताएका छौं। देशविदेशमा सँगै धेरै स्टेज प्रस्तुति दिएका छौं। हामी सँगै स्टेजमा जाँदा दर्शकको उक्साहट देखेर त्यहाँ के भइरहेको छ, थाहै हुँदैन।

उहाँको विवाहपछि पनि बारम्बार हामी भेटेर गफ गरिरहन्छौं। उहाँको विवाहलगत्तै हामी कार्यक्रमका लागि एकमहिने टुरमा अस्ट्रेलिया गएका थियौं। उहाँको जीवनशैली र व्यक्तित्वबाट म प्रभावित छु।

मलाई विवाह गर्न सुझाइरहनुभएको छ। आकर्षणको भरमा मात्र विवाह गर्न हुन्न भन्नुहुन्छ। विवाह गर्न केटी त चाहियो। कहिले केटी भेट्ने, कहिले घुलमिल हुने र विवाह गर्ने? विवाहका बारेमा म अन्योलमा छु।

फेसबुक कमेन्ट