सात वर्षअघि हाम्रो बिहे भएको हो । विवाहको केही दिनमै चलचित्रको छायांकन परेकाले हनिमुन जाने मौका मिलेन । संयुक्त परिवार भएकाले परिवारको चाहना पनि बुझ्नै पर्‍यो । लामो समयको प्रेमपछि हामीले विवाह गरेका हौं । प्रेमी (मुकेश ढकाल) श्रीमान् बन्नुभयो ।
मलाई पनि पारिवारिक वातावरण मन पर्ने । तर पनि बुहारी भएपछि जिम्मेवारी फेरिँदो रहेछ । चाहेको कुरा भन्न नसकिने, मन लागेको कुरा तुरुन्त गर्न नसकिने हुँदो रहेछ ।
श्रीमान् यस्तो कुरामा सहयोगी हुनुहुन्थ्यो । तर पनि उहाँ नहुँदा घरमा एक्लो महसुस हुन्थ्यो । बिनाकाम बाहिर नगइदिए हुन्थ्योजस्तो लाग्थ्यो । परिवारमा सबैको चाहना बुझिनसक्दासम्म श्रीमान् घरमै हुँदा मन ढुक्क हुन्थ्यो ।
विवाहको केही महिनापछि एउटा कार्यक्रममा बाहिर जाने मौका मिल्यो । पोखरा बाटोमा परेकाले कार्यक्रम आयोजक एकजना साथीले हाम्रो लागि उपहारस्वरूप एक रातका लागि होटेलमा हनिमुन रुम बुक गरिदिनुभएको रहेछ ।
साँझपख होटेलबाट घुम्न बाहिर निस्किएका थियौं। बाटोमा एउटा बेकरी सप देखेँ । मलाई केक खान मन लाग्यो । मैले उहाँसँग भनिहालेँ । उहाँ कुन मुडमा हुनुहुन्थ्यो कुन्नि, ‘तिमीलाई जति बेला जे देख्यो त्यही चाहिने ?’ भन्नुभयो ।
सामान्य तरिकाले उहाँले भन्नुभएको कुरा भए पनि मलाई नराम्रो लाग्यो । त्यसपछि मेरो मुड नै बिग्रियो । रातभर मुड ठीक भएन । नबोली रिसाएरै रात बित्यो । भोलिपल्ट बिहानमात्र बोलचाल भयो ।
रातभर उहाँले पनि ‘यति सानो कुरामा किन रिसाएको’ भनेर फकाएको भए हुन्थ्यो तर फकाउनुभएन । मैले पनि आफ्नो मनलाई सम्झाउने प्रयास गरिनँ ।
त्यो रात हामीले निकै रमाइलोसँग बिताउन सक्थ्यौं । त्यति सानो कुरामा त्यो रमाइलो पल गुमायौं । पछि धेरै पछुतो लाग्यो । कहिले कामको व्यस्तता, कहिले विभिन्न समस्या । हनिमुन भनेर कतै जान पाएनौं ।
हनिमुन अनुभव गर्न नपाउँदा मैले धेरै कुरा छुटाएजस्तो महसुस हुन्छ। हनिमुन एकअर्कालाई बुझ्ने राम्रो समय हो।
जसले हनिमुन मनाए असाध्यै राम्रो काम गरे । अहिले मलाई समय मिलाएर त्यतिबेला हनिमुन जान पाएको भए हुन्थ्यो भन्ने लागिरहन्छ ।

अन्नपूर्ण पोष्टबाट

फेसबुक कमेन्ट