heart

आफूलाई हृदयाघात हुने खतरा छ कि छैन भन्ने तपाईंलाई थाहा छ ? जान्न मन लागे आफ्नो परेलामा हेर्दा हुन्छ । नयाँ अध्ययनमा के भनिएको छ भने आँखा छेउछाउको छालामा पहेंलोपन देखिनु मुटु रोगको लक्षण हुन सक्छ ।बि्रटिस मेडिकल जर्नलअनुसार डेनमार्कमा अनुसन्धाताहरूले करिव १३ हजार व्यक्तिमा गरेको अनुसन्धानमा पाइयो- ‘ज्यानथेलास्माटा’ नामले चिनिने दाग भए दस वर्षभित्र हृदयाघात हुने वा मृत्यु हुने सम्भावना बढी हुन्छ ।कोलेस्ट्रोल जम्मा भएपछि यस्तो दाग हुन्छ । त्यस्ता दाग मुलायम, पीडारहित हुन्छन् । दागको असर आँखाको दृष्टिमा पर्दैन ।

सामान्यतया सबैजसो यसको उपचार छाला रोग विशेषज्ञसँग गराउँछन् ।डेनमार्कमा हर्वेल अस्पतालका अनुसन्धाताहरूले सन् १९७० को दशकमा १२ हजार ७ सय ४५ व्यक्तिमा निगरानी गर्न सुरु गरे । अध्ययनको सुरुवातको समय चार-चार प्रतिशत रोगीमा ‘ज्यानथेलास्माटा’ नाम गरेको दाग थियो ।३३ वर्षपछि तीमध्ये १ हजार ८ सय ७२ व्यक्तिलाई हृदयाघात भयो, ३ हजार ६ सय ९९ व्यक्तिलाई मुटु रोग भयो र ८ हजार ५ सय ७ व्यक्तिको मृत्यु भयो । तथ्यांकले के स्पष्ट पार्छ भने जसको आँखाका छेउछाउमा पहेंलो चिनो थियो, उनीहरूमा यसको बढी खतरा थियो ।
ह्रदयाघात किन हुन्छ र यसको उपचार
पहेंलो चिनो भएका ४८ प्रतिशत व्यक्तिमा हृदयाघात हुने आशंका बढी थियो, ३९ प्रतिशत व्यक्तिमा मुटु रोग हुने आशंका बढी थियो र १४ प्रतिशत व्यक्तिको अध्ययनको समयमा मृत्यु भयो । हृदयाघातको सम्बन्ध महिलाको दाँजोमा ७० वर्षदेखि ७९ वर्षका पुरुषहरूमा बढी देखियो ।
संसारभरि नै मुटु र यस सम्बन्धी कारणले सबैभन्दा धेरै मृत्यु हुने गरेको छ । अल्प उमेरमा मृत्यु हुनेहरूमा ८० प्रतिशत यही कारणबाट भइरहेका छन् । हरेक १० वटा मृत्युमा एउटा मुटुसँग सम्बन्धित रोगको कारणबाट हुने गर्छ । जम्मा १ करोड ७५ लाख मान्छे हरेक साल यही कारणबाट मर्छन् ।
यस रोगका कारणमा खाना, शारीरिक परीक्षण नगर्ने,सुर्तीजन्य पदार्थ उपयोग -धूमपान), रक्सी धेरै पिउने र उच्च रक्तचाप हुन् । यसैगरी रगतमा चिल्लो पदार्थ बढी हुने चिनीको मात्रा बढी -मधुमेह), वजन ज्यादा हुने -मोटो हुने रोग), आफ्नो परिवारमा यदि मुटुरोग छ र नकारात्मक तनावहरू छन् भने त्यो पनि यस रोगको कारण बन्न जान्छ ।

मुटुरोगले धनी, गरिब, सहरका, गाउँका भनी भेदभाव गर्दैन । अझ खास ध्यान दिनुपर्ने के छ भने यो रोग होनहार उमेरमै लाग्छ, बूढो हुनु पर्दैन । नेपालमै १९ वर्षकै उमेरमा हृदयाघात भएको पाइएको छ । अचेल ३० वर्ष नाघेकाहरूमा यसको प्रकोप बढी देखिन थालिसकेको छ । यो कुनै धनीलाई नभएर झन् गरिबलाई र गरिब मुलुकमै बढेको आँकडाले देखाइराखेको छ । तसर्थ यसपालि विश्व मुटु महासंघले हरेकलाई मुटुलाई माया गर्न खानपान, रहनसहन, राम्रा चालचलन गर्न, एउटा मुटुले पूरा परिवारको मुटु, परिवारपरिवारबाट राष्ट्रको मुटु र सारा संसारमै मुटु बचाउन आह्वान गरेको छ ।

यो रोग अब व्यक्ति, परिवार, समाज र राष्ट्र हुँदै संसारबाटै नियन्त्रण गर्न आवश्यक भइसकेको छ । हामीलाई थाहा छ मुटुरोग र यस सम्बन्धी अरू रोग बढाउने कारणमा वंशानुगत कुराबाहेक अरू सबै कुरा व्यक्तिले आफैं नियन्त्रण गर्न सक्छ । जस्तैः वजन ठीक राख्ने, नियमित व्यायाम गर्ने, फलफूल, सागसब्जी ज्यादा खाने, आफ्नो रक्तचाप, मधुमेह, रगतको चिल्लो पदार्थको अवस्था ठीक ठाउँमा राख्ने, नचाहिँदो तनावबाट टाढै बस्ने इत्यादि । यी सबै कुरा हामीले घरबाटै नियन्त्रण गर्न सकेमा आफ्नो परिवारका सदस्यको मुटु धेरै हदसम्म बचाउन सकिन्छ ।

आजभोलि धेरै जना आराम गर्न भनेर टिभी हेरेर समय बिताउँछन् । यो नगरेर सबै परिवार मिलेर कतै घुम्न जाने, हिँड्ने, डाँडो चढ्न जाने, खेल्ने गरे कति राम्रो हुन्थ्यो । आफ्नै घरमा बिचरा साना नानीहरूलाई ठूला मान्छेले धूमपान गरेर उनीहरूको कलिलो ज्यानमा कति नकारात्मक प्रभाव परेको हुन्छ, त्यो बाट बचाउन सकिन्छ ।

चुरोटले मुटुको रोग लगाउने एउटा प्रमुख भाग ओगट्छ ।घरमा खाना खाँदा मुटुलाई माया गर्ने खाना खान सकिन्छ, नुन कम, चिल्लो कम, हरियोपरियो सागसब्जी, रेसा भएका सादा खाना । माछामासु जति सकिन्छ कम । दिनको ५ सय ग्राम फलफूल खानु भनिएको छ । घर नै त्यो ठाउँ हो जहाँ मुटुको रोगको लक्षण देखा पर्छ । तसर्थ घरपरिवारका सदस्यहरूमा यस रोगका बारेमा जानकारी भयो भने समयमै उपचार गर्न पाइन्छ । हामीलाई थाहा छ मुटुरोगको उपचारमा समय धेरै महत्त्वपूर्ण हुन्छ ।

समय नै मुटुको मांसपेशी हो भनिन्छ किनभने जति चाँडै उपचार गर्न पाइयो त्यति चाँडो नै मुटुलाई धेरै बचाउन सकिन्छ । यसकारण नेपालमा पनि यस रोगको प्रारम्भिक उपचारबारे परिवारका सदस्यलाई नेपाल हृदयरोग निवारण प्रतिष्ठानले जानकारी गराउँदै आएको छ ।
यी सबै गर्न केही गाह्रो छैन, खालि इच्छाको जरुरत छ । यो महामारीबाट बच्न हरेक व्यक्तिले आफ्नो घरबाट यो पुण्य काम सुरु गर्नुपर्छ । यसमा समाज, सरकार र सबै संघसंस्थाको गहन जिम्मेवारी हुन्छ । हामी सबै मिलेर यसका विरुद्धमा लागेनौं भने हामीले धेरै ठूलो मूल्य चुकाउनपर्छ ।

आज पश्चिमी समाजले पनी परिवारको महत्त्व पुर्बेली ढाँचाले बुझ्न थालेका छन्, उनीहरू हाम्रो संस्कृतिको सिको गर्दै छन् । हामीचाहिँ उनीहरूले फालेका चालचलन, खानपिन सिकेर गर्व गर्न थालेका छौं । हामी आफ्नो संकृति, रीतिरिवाज, चालचलन बचाएर राखौं, त्यसमा भएका धेरै राम्र्रा कुरा छन्, जसले हामीलाई हरेक क्षेत्रमा मद्दत गर्छ ।

मुटुरोग भयंकर डरलाग्दो भए पनि समयमै ध्यान पुर्‍याएको खण्डमा यसबाट बच्न सकिन्छ । तर यसका लागि व्यक्ति, परिवार, समाज र सरकार सबै एकसाथ लाग्नुपर्छ । यसको उपचार यति महँगो छ कि हामीजस्ता गरिब राष्ट्रका मान्छेको त के कुरा धनी राष्ट्रका मानिसलाई पनि गाह्रो पर्छ । त्यसैले योबाट बच्नु नै हाम्रा लागि एक मात्र उपाय हो ।{लेखक मेडिकेयर नेसनल हस्पिटलका चिफ कन्सल्टेन्ट कार्डियोलोजिस्ट हुन् ।}

विकसित देशहरूमा यो रोगको भार कम हुँदै गए तापनि नेपालजस्ता विकासशील देशमा यसको खतरा बढ्दै गएको छ । नेपालको चिकित्सा क्षेत्रमा धेरै प्रगति भइसके तापनि हामी यो महामारी रोगलाई नियन्त्रण गर्ने अवस्थामा छैनौं । मुटुको रोगबारे पूर्वजानकारी दिने लक्ष्यसहित हामीले यस क्षेत्रका प्रबुद्ध चिकित्सकहरूबाट जानकारी बटुलेका छौं ।
उच्च रक्तचाप
डा. डीबी कार्की
सामान्य रक्तचाप भनेको १२०/८० हो । नेपालका सहरी क्षेत्रका करिब एक चौथाइ जनसंख्यालाई उच्च रक्तचापको सम्भावना छ । १८ वर्षभन्दा माथिका मानिसमा यदि माथिल्लो ब्लड प्रेसर (सिस्टोलिक) १४० अथवा त्यसभन्दा बढी र तल्लो -डायस्टोलिक) ब्लड प्रेसर ९० वा त्यसभन्दा बढी पुगे उच्च रक्तचाप भएको मानिन्छ । कार्डियोभास्कुलर रोगका कारण मान्छेको मृत्युसमेत हुनसक्ने खतरा त्यतिखेर उत्पन्न हुनसक्छ, तब सामान्यतया ११५/७५ को रक्तचापमा २०/१० का दरले बढ्दै दोब्बर हुनसक्छ । सामान्य रक्तचाप भएको ५५ वषर्ीय व्यक्तिलाई जीवनमा उच्च रक्तचाप हुने खतरा ९० प्रतिशत हुनसक्छ । उच्च रक्तचाप भएको व्यक्तिमा टाउको दुख्ने, झुम्म पार्ने जस्ता लक्षण देखापर्न सक्छन् वा कुनै पनि लक्षण नदेखिन पनि सक्छ । उच्च रक्तचापको कारण भने करिब १० प्रतिशत बिरामीमा मात्रै पत्ता लाग्ने गर्छ ।

उच्च रक्तचापको समयमै उपचार नगरिए बिरामीमध्ये ५० प्रतिशतको हृदयाघात वा मुटुगति बन्द हुन्छ । २० प्रतिशत बिरामी पक्षाघातबाट मर्छन् । खानामा नुनको कमी, शारीरिक तौलमा नियन्त्रण, धूमपानको त्याग, नियमित शारीरिक व्यायाम, ताजा फलफूल तथा सागपातको बढी प्रयोग इत्यादि रक्तचाप नियन्त्रण गर्ने उपयोगी उपाय हुन् । उच्च रक्तचाप नियन्त्रण गर्ने औषधी प्रयोग गर्ने या नगर्ने निर्णय सम्बन्धित बिरामीमा रहन्छ । रक्तचापलाई जहिले पनि १३०/८० मा सीमित राख्नुपर्छ । औषधी सेवन गरिरहेको भए चिकित्सकको सल्लाहबिना छाड्नु हुँदैन
मधुमेह र सुर्तीजन्य पदार्थ
डा. शेखर राजभण्डारी
हृदयरोगको एक प्रमुख कारक मधुमेह हो । मधुमेह नभएका मुटुरोगीलाई भन्दा मधुमेह भएकालाई हृदयाघात हुँदा मृत्युदर बढी हुने गरेको छ । मधुमेह बिनाका मुटुरोगीमा भन्दा मधुमेह भएका बिरामीमा हृदयाघात हुने सम्भावना २ देखि ५ गुना बढी पाइएको छ । सुर्तीजन्य पदार्थ तथा चुरोट सेवन मुटुरोगमा सबभन्दा बढी जोखिम निम्त्याउने अर्को कारण हो । हालसालैको अध्ययनबाट एउटा चुरोटको सेवनले मान्छेको जीवन ११ मिनेटले घटाउँछ । नेपालमा सुर्ती तथा चुरोट सेवनकर्ताको संख्या दिनानुदिन बढ्दैछ । धूमपान नगर्ने जनसंख्यामा पनि धूमपानका अम्मलीको धुवाँले वा सिगार, पाइप इत्यादि लिँदासमेत नजिकैका व्यक्तिको मुटुका धमनीमा असर पर्नसक्छ ।
कोलेस्टेरोलका केही तथ्य
डा. राजीव पाण्डे
कोलेस्टेरोल भनेको रगतमा हुने चिल्लो पदार्थ हो । रगतमा आवश्यकभन्दा बढी कोलेस्टेरोलको मात्रा भए त्यसले शरीरलाई नराम्रो असर पार्छ । बढी भएको कोलेस्टेरोलले मुटुका धमनीको भित्री भित्तामा जम्मा भई नसा साँघुर्‍याएर रक्तप्रवाहमा अवरोध पुर्‍याउँछ । यसरी प्रभावित धमनी उल्लेख्य रूपमा बन्द भए वा साँघुरिएमा त्यसबाट मुटु दुख्ने रोग -ऐँठन), पक्षाघातजस्ता समस्या देखापर्न सक्छन् । यसबाट जीवन जोखिममा पर्ने वा अपाङ्गसमेत हुनसक्छ । त्यसैले जोकसैले पनि आफ्नो रगतमा कोलेस्टेरोलको मात्रा सन्तुलित राख्न प्रयत्न गर्नुपर्छ । कोलेस्टेरोलको आवश्यक मात्रा हरेक बिरामीमा फरक-फरक हुन्छ ।
४५ वर्ष नाघेका जोसुकैले आफ्नो रगतमा कोलेस्टेरोलको मात्रा ठीक ठाउँमा राख्न पारिवारिक चिकित्सकसँग परामर्श लिई नियमित जाँच गराउनुपर्छ । नियमित शारीरिक व्यायाम, ताजा तरकारी तथा फलफूल यथाशक्य सेवन गर्ने र चिल्लो तथा भुटेका/तारेका खाद्यपदार्थको प्रयोग नगर्ने बानी बसाल्दा पनि कोलेस्टेरोलको मात्रा घट्न सक्छ । यसको मात्रा घटाउने केही औषधी पनि छन्, जुन चिकित्सकको सल्लाहमा मात्र सेवन गर्नुपर्छ । साधारणतया एक व्यक्तिमा कुल कोले
स्टेरोल २०० एमजी, एलडीएल १०० एमजी, टीजी १५० एमजीभन्दा तल र एचडीएल ४५ एमजीभन्दा माथि राखिराख्नुपर्छ ।

ह्रदयाघात
डा. यादव भट्ट
मुटु विशेष किसिमका मांसपेशी तथा तन्तुहरूबाट बनेको पम्प हो । यसले शरीरका विभिन्न भागबाट मुटुमा प्रवाहित हुने रगतलाई फोक्सोमा पम्प गर्छ । अक्सिजनसहितको शुद्ध रगत फोक्सोबाट पुनः मुटुमै ल्याई शरीरका विभिन्न अङ्गमा पम्प गर्छ । रगतमार्फत शरीरका प्रत्येक कोषबाट अक्सिजन तथा पोषणतत्त्व पुर्‍याउँछ । मुटुको काम यही हो । त्यसैले यो शरीरको अत्यन्तै महत्त्वपूर्ण अंग मानिन्छ । मुटुका मांसपेशी तथा तन्तुमा रक्तप्रवाह हुनसकेन भने ती अकस्मात मर्छन् । मुटुले तत्कालै काम गर्न छाड्छ । यसैलाई हृदयाघात भनिन्छ ।
मानव शरीरलाई जीवन्त राख्न मुटुको अत्यन्तै महत्त्वपूर्ण भूमिका रहेकाले यसको काममा कुनै पनि अवरोधबाट मान्छेको मृत्युसमेत हुनसक्छ । यसले हृदयाघातको अवस्थामा तत्कालै गरिनुपर्ने उपचारको महत्त्व प्रस्ट्याउँछ ।
हाल उपलब्ध परिस्कृत र आधुनिक उपचार पद्धतिद्वारा हृदयाघातको उपचार समयमै गर्नसक्ने हो भने रोगीमध्ये ९० प्रतिशतको जीवन बचाउन सकिन्छ । हृदयाघात हुँदा तत्कालै २ चक्की एस्पिरिन चपाएर निल्नु पहिलो प्राथमिक उपचार हो ।
एन्जियोग्राफी र एन्जियोल्पाष्टी
डा. भारत रावत
कोरोनरी एन्जियोग्राफी विशेष प्रकारको एक्स-रे प्रविधि हो, जसमा मुटुतर्फ जाने धमनी -मुकुट धमनीमा) रङ्गनि तरल पदार्थ पठाइन्छ र मुटुको एक्स-रे लिइन्छ । यस परीक्षणले हृदयरोग विशेषज्ञलाई बिरामीको धमनीको रोकावटको संख्या, निश्चित स्थान र रोकावट बन्द भएको मात्र पत्ता लगाउन मद्दत पुर्‍याउ्ँछ । यो परीक्षण गर्न अन्दाजी १५-२० मिनेट लाग्छ । कोरोनरी एन्जियोग्राफी परीक्षण नेपालमा नियमित रूपमा गरिन्छ र धेरैभन्दा धेरै बिरामी यसबाट लाभान्वित पनि भएका छन् ।
एन्जियोल्पाष्टी : कोरोनरी एन्जियोल्पाष्टी बिना शल्यक्रिया उपचार गरिने प्रक्रिया हो । यो प्रक्रिया अपनाएर बिरामीको साँघुरिएको, बन्द भएको वा रोकावट आएको धमनी खोल्न एक विशिष्ट प्रकारले तयार गरिएको बेलुन क्याथेटर प्रयोग गरिन्छ । मानव शरीरमा सर्वप्रथम सन् १९७७ मा साधारण किसिमको बेलुन एन्जियोल्पाष्टी प्रक्रियापश्चात् धेरै बिरामीको धमनीमा पुनः अवरोध आउने वा साँघुरिनबाट जोगाउन मेटलको रिङ राख्ने प्रक्रिया सुरु गरिएमा यसलाई स्टेन्ट प्रत्यारोपण भनिन्छ ।

कोरोनरी स्टेन्टिङ : स्टेन्ट भन्नाले धातुको सानो गोलो रिङ हो । यसलाई धमनी पुनः बन्द हुन वा अवरोध हुनबाट जोगाउन टेवा पुर्‍याउन सक्नेगरी बनाइएको हुन्छ । कोरोनरी स्टेन्टिङ भनेको एउटा त्यस्तो प्रक्रिया हो, जसमा त्यो स्टेन्ट धमनीको साँघुरिएको भागमा जडान गरिन्छ । हाल बेलुन एन्जियोल्पाष्टी गराउने लगभग सबैमा मुटुका रोगीको धमनी खुल्ला राख्न स्टेन्ट प्रत्यारोपण गरिन्छ । संसारभर कोरोनरी एन्जियोल्पाष्टी अत्यधिक सफलतासाथ ९९ प्रतिशत धेरैभन्दा धेरै बिरामीमा गरिँदै आइएको छ । गत वर्षमात्रै विश्वभर २० लाखभन्दा बढी एन्जियोल्पाष्टी गरिए । नेपालमा हाल नर्भिक, गंगालाल, मेडिकेयर हस्पिटलमा एन्जियोल्पाष्टी गरिन्छ ।
आकस्मिक कोरोनरी एन्जियोग्राफी : हृदयाघातका बेलामा गरिने आकस्मिक कोरोनरी एन्जियोल्पाष्टीले बिरामीको ज्यान बचाउँछ । यो अलिक महँगो उपचार भए पनि यसले हृदयाघात भएका बिरामीलाई चाँडो निको पार्छ । साथै यसले बिरामीको मृत्यु वा हृदयगति बन्द हुनबाट बचाउन सक्छ ।
कोरोनरी आर्टरी बाइपास
डा. भगवान कोइराला
कोरोनरी आर्टरी बाइपास ग्राफिटङ भनेको मुटुमा रक्तप्रवाह पुनः गराउने एउटा शल्यक्रियात्मक प्रक्रिया हो । शल्यक्रिया त्यस्तो परिस्थितिमा गरिन्छ, जब मुटुमा रगत प्रवाह गराउने धमनीमै व्यापक रूपमा अवरोध आउँछ वा बन्द हुन्छ । यसलाई एन्जियोल्पाष्टीद्वारा खुलाउन असम्भव हुन्छ, सम्भवै भए पनि त्यसले अन्य ठूलो हानि पुर्‍याउन सक्छ । सामान्यतया बिरामीको मुकुट धमनीमा धेरैवटा अवरोध भएमा त्यस्ता बिरामीको उपचारनिम्ति शल्यक्रियाको बाइपास प्रविधि अपनाइन्छ ।
बाइपास सर्जरी गर्दा बिरामीको शरीरकै कुनै उपयुक्त नसा प्रयोग गरिन्छ । सामान्यतया बढी मात्रामा प्रयोग गरिने नसामा बिरामीको छातीको नसा हो भने अन्य छनोटमा बिरामीको पाखुरा, नाडीको नसा वा पिँडुलाका नसा पर्छन् । बाइपास शल्यक्रिया गर्ने विभिन्न तरिका छन् । शल्यक्रिया गर्दा बिरामीको रक्तसञ्चार ‘हार्ट-लङ’ मेसिनद्वारा कृत्रिम रूपमा मुटु पूर्णतया बन्द गराएर वा मुटु सुचारु रहेकै अवस्थामा गर्न सकिन्छ ।
बाइपास शल्यक्रियाका सबै तरिका तथा प्रविधि देशभित्रै उपलब्ध छन् । यहाँ गरिएका शल्यक्रियाका नतिजा उत्साहजनक रूपमा अन्तर्राष्ट्रिय स्तरका छन् । एकभन्दा बढी अस्पताल तथा बढी टोलीद्वारा यस्ता शल्यक्रिया नेपालमा नियमित रूपमा गरिँदै आइएको छ ।
इको कार्डियोग्राम
डा. एचएस सोढी
इको कार्डियोग्राम साधारणतया मुटुको अल्ट्रासाउन्ड हो । यो एउटा पीडारहित, बिनाचिरफार मुटुको परीक्षण हो यो मुटुको बनावट र कार्यक्षमता परीक्षण गर्न गरिन्छ । इको कार्डियोग्राम परीक्षणले मुटुमा भएको वा हुनसक्ने बनावट वा संरचनागत खराबीलाई पत्ता लगाउन मद्दत पुग्छ । इको कार्डियोग्रामले हृदयरोग विशेषज्ञलाई हृदयरोगीको मुटुको संरचनागत खराबी जन्मजात होस् वा पछि उत्पन्न, त्यसबारे विस्तृत सूचना प्राप्त हुन्छ । इको कार्डियोग्राम अर्थात् मुटुको अल्ट्रासाउन्ड हाल आएर सबै खाले मुटुरोगको एक अभिन्न र अनिवार्य परीक्षण बन्न पुगेको छ ।
ट्रेडमिल टेष्ट : कोरोनरी आर्टरी अर्थात् मुटुका मुकुट धमनीहरू विशेषतः सामान्य अवस्थामा -खुला) छन् वा छैनन् भनी पत्ता लगाउन वा निक्र्योल गर्न बिरामीको टे्रडमिल टेष्ट गरिन्छ । यो परीक्षण गराउँदा बिरामीलाई टे्रडमिल मेसिनमा केही जोडले हिँडेको जस्तो गरी पाइला चाल्न लगान्छ र इसीजी मनिटरिङ गरिन्छ । बिरामीले त्यसरी व्यायाम गर्दा उसको हृदयगति बढ्नलाई निश्चित गतिमा पुग्छ । त्यसबखत नै उसको इसीजीमा आएको निश्चित परिवर्तनलाई हेरिन्छ । यद्यपि टे्रडमिल परीक्षण अनुमान जुन शतप्रतिशत निश्चित नहुन पनि सक्छ । टे्रडमिल परीक्षण असामान्य देखिएको खण्डमा कोरोनरी एन्जियोग्राफीजस्तो मुटुरोगको निश्चित निदान अर्थात् किटर भन्न सकिने परीक्षणको योजना गरिन्छ ।
पेसमेकर प्रत्यारोपण
डा. सुनिचन्द्र झा
मुटुको पेसमेकर भन्नाले मुटुको गति वा धड्कन आवश्यक मात्रामा सुचारु गराउने र शरीरमा प्रत्यारोपण गराउन सकिने एउटा सूक्ष्म संयन्त्र हो । मुटुको धड्कन नियमित, स्थिर र आवश्यक मात्रामा सुचारु गराउनु मुटुरोग उपचारको महत्त्वपूर्ण पक्ष हो ।
सामान्यतया मुटुको धड्कन ६०-१०० प्रतिमिनेट हुने गर्छ । जब त्यो गति ४५ पटक प्रतिमिनेटभन्दा तल र्झछ, मस्तिष्कले समेत ठीकसँग काम नगर्ने, मूच्छर््रा पर्ने, रिङ्गटा लाग्ने, झुम्म पार्ने जस्ता लक्षण देखापर्न थाल्छन् । यस्ता लक्षण दैनिक जीवनका विशेष परिस्थिति जस्तो कि गाडी चलाउँदा, व्यस्त सडक पार गर्दा, भर्‍याङ चढ्दा आइपरेमा भयावह स्थिति सिर्जना हुन जान्छ । यस्तो अवस्थाका बिरामीमा मुटुको पेसमेकर जडान गर्दा मुटुको गति वा धड्कनलाई नियमित र स्थिर राखी ६० विट्स प्रतिमिनेटभन्दा तल र्झन नदिएर जीवन सामान्य बनाउन सकिन्छ ।

 

फेसबुक कमेन्ट