Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
प्रमुख समाचार

इतिहासका पाठहरु सिक्नको लागि हुन्, बेच्नका लागि होइनन्

इतिहासका पाठहरु सिक्नको लागि हुन्, बेच्नका लागि होइनन्
  • माधव सापकोटा 

जनसंपर्क समितिको चुनाव नजिकिदै गर्दा दिदी र भाई चुनाव लड्ने साइत जुरेको छ बेल्जियममा । भाईले ढिपी झिक्यो छाडि दिउ न त भनेर दिदिले ठुलो मन बनाए पनि हुने मैले दिदिको अविभावकत्वमा बसेर घर चलाऊन सिक्छु नि दिदी भनेर जुम्लिहात जोड्दा पनि हैट ! भन्ने दिदिलाई छोडि दिएपनी हुने ! अरुले पनि त्यसरी नै सोच्दा हुन ! तर खै यो पटक किन हो किन इतिहास सम्झन मन लाग्यो र महाभारतमा एकलब्यको बुढी औंला काटिएको दृश्यले मलाई चुनावमा आउन वाध्य बनायो । उमेरमा कान्छो हुदैमा अभिमन्युको बलिदानलाई कमजोर भन्न मिल्ला र ? म घोत्लिए र सोचें दिदी उमेरले अग्रज भएपनी सहकर्मी त हौ ।

म पनि चाहना बिहिन मान्छे त हैन । संगठन विभाजनको बेला एउटा महाप्रलय भयो, को कता बास बस्यो त्यसको आधारमा मुल्याङ्कन गर्नु अस्वाभाबिक हो जस्तो मलाई लाग्छ । त्यो बेला पनि म हालका पार्टी सभापति सम्मानित शेरबहादुर देउवा तथा सन्त नेता कृष्णप्रसाद भट्टराई संगै थिए । बि.स. ०५१ सालको असहजता पार्टी जीवनको एउटा भवितव्य थियो । बहुमतको आफ्नो प्रिय नेता तथा तात्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सरकार गिराउनु नेतृत्वको गम्भिर भुल थियो भन्ने लाग्छ अझै पनि । त्यहि नै पछी बिभाजनको कारण बन्यो । जुन कुरा ईतिहास बनी सकेको छ र त्यसबाट सिक्ने पाठ मात्रै हो । त्यसलाई मुल्याङ्कनको कसी बनाउन खोज्नु अहिलेको हाम्रो नेतृत्व प्रति कै अपमान हुन आउछ । त्यसैले भनिन्छ इतिहाँसबाट सिक्न सकिन्छ तर बेच्न खोज्नु महापाप हो । त्यस्तै त्यस्तै बिषयबस्तुलाई समेटेर मैले इतिहाँसको प्रारम्भमा पार्टी कसरी र कस्तो अवस्थामा बन्यो ? बलिदान र त्याग के हो ? र हाम्रो परिवेश कस्तो छ ? हामी कहाँ छौं ? भन्ने बारे केही हरफ कोर्ने प्रयास गरेको छु । त्रुटिलाई माफ गरी दिनु होला ।

माघ १२ गते नेपाली कांग्रेस स्थापना भएको ऐतिहासिक दिन हो। प्रत्येक वर्ष यस दिनले नेपाली कांग्रेसको गौरवपूर्ण इतिहास सम्झाउँछ। त्यो दिन हाम्रो पार्टिको स्थापना दिवस भएकोले हाम्रो महान पर्व पनि हो । तर किन खै त्यो महान दिनलाई बिर्सिदै गएको हामीलाई आभास हुन थालेको छ । अनेकौं आरोह-अवरोहलाई छिचोल्दै, कैयौं ऐतिहासिक घुम्तीबाट अघि बढ्दै, नेपाली कांग्रेसले सात दशकको लामो यात्रा पूरा गर्नलागेको छ। यसले निरंकुशताका विरुद्वका अनेकौं संघर्षमा सधैं आफूलाई समाहित गर्नुपर्यो। त्यसैले त्यो दिनले हामी कार्यकर्ताहरुमा बिशेष कर्तब्य बोध गराउनुको साथै जिबन प्रयन्त प्रेरणा दिइरहने छ ।

हुनत: नेपाली कांग्रेसको इतिहास महामानब बिपी कोइरालाका पिता स्व कृष्णप्रसाद कोइरालाले सिराहाको माडरबाट कहालीलाग्दो गरिबीमा रहेका नेपाली जनताको अवस्थालाई बुझाउने संकेत स्वरुप झुत्रो कपडाको ‘उपहार ’ चन्द्रशम्शेरलाई सिंहदरबारमा पठाएकै दिन वि.सं १९७४ को श्रावणमै प्रारम्भ भएको हो। तर, यसको विधिवत् स्थापना भने त्यसको धेरै पछि विसं २००३ को माघ १२ र १३ गते कलकत्ताको भवानीपुरको अधिवेशनबाट भएको हो। त्यो इतिहाँसको श्रीगणेशलाई सम्झदा यो छाती गौरबले ढक्क फुल्दछ । नेपालको एकतन्त्रीय राणा शासन र भारतको औपनिवेशिक शासन विरुद्धको संघर्षको बातावरण र चर्चा परिर्चाले बालक विश्वेश्वरप्रसाद कोइराला (बीपी) को चेतनाका आँखामा क्रान्तिकारी भावनाको बिउ रोपी दियो । सन् १९२० मा ६ वर्ष पुग्दानपुग्दै बीपीले महात्मा गान्धीको आह्वानमा भएको असहयोग आन्दोलनका क्रममा सरकारी विद्यालय बहिष्कार गर्नुभयो। त्यसबेला बनारसको घरघरबाट बेलायती कपडा जम्मागर्दै चोकचोकमा लगेर जलाउने सशक्त बाल स्वयंसेवक हुनुहुन्थ्यो बीपी।

सन् १९३४ मा आइपुग्दा बीपी भारतीय स्वतन्त्रता संघर्षको एक वरिष्ठ तरुण नेता भइसक्नु भएको थियो। त्यही बेला आफ्ना केही थप योजनाका आधारमा समाजवादी समूहले भारतीय राष्ट्रिय कांग्रेसभित्र बेग्लै अस्तित्व कायम राखेर काम गर्न थाल्यो। समाजवादी समूहको विहार प्रान्तको संगठन सेक्रेटरीको हैसियतले, त्यस समूहको प्रचार एवं किसान, मजदुर र विद्यार्थी संगठनको मुख्य दायित्व बीपीले वहन गर्नुपरेको थियो। किसान, मजदुर र विद्यार्थीले गरेको विभिन्न आन्दोलनलाई नेतृत्व गर्दै बीपीले अनेकपटक भारतको विभिन्न जेलमा रहनुपर्यो । भारतीय राष्ट्रिय कांग्रेसको सन् १९४२ को अगस्तमा बम्बईमा भएको सम्मेलनले ‘भारत छोड’ (क्विट इन्डिया) आन्दोलनको प्रस्ताव स्वीकृत गर्यो। त्यसपछि तुरुन्तै व्यापक गिरफ्तारी प्रारम्भ भयो। त्यस आन्दोलनमा समाजवादी समूहको उल्लेखनीय भूमिका रह्यो। केहीसमयसम्म भूमिगत रहेर बीपीले विहार र उत्तरप्रदेशमा आन्दोलनको नेतृत्व गर्नुभयो। अन्ततः १९४२ को नोभेम्बरमा बीपी पटनामा पक्राउ पर्नुभयो। सन् १९४४ को उत्तरार्द्धदेखि राजबन्दीहरुको रिहाइको क्रम प्रारम्भ भयो। सन् १९४५ को जनवरी १७ का दिन हजारीवाग जेलबाट धेरै राजवन्दीसँगै बीपी पनि रिहा हुनुभयो। रिहाइको पत्रसँगै जेल कार्यालयमा बीपीले काठमाडौबाट भाइ केशवप्रसाद कोइरालाले पठाएको एउटा टेलिग्राम पनि पाउनुभयो। त्यो पिताजीको निधनको दुःखद समाचार थियो। वि.सं. २००१ को माघ २ गते पिताजीको काठमाडौंमा बन्दी अवस्थामा निधन भएको थियो। दोस्रो विश्वयुद्धको समाप्तिसँगै धेरै मुलुकबाट औपनिवेशिक शासन समाप्त हुन थाल्यो। भारत पनि स्वतन्त्रता प्राप्तिको नजिकै आइसकेको थियो। सन् १९४६ को अक्टोवर ४ का दिन बीपी कोइरालाले एउटा वक्तव्य दिनु भयो। त्यसमा उहाँले, निरंकुश राणा शासनलाई समाप्त पारेर देशमा प्रजातन्त्र स्थापना गर्न संगठित भएर आफ्नो देशप्रतिको कर्तव्य पूरा गर्न सम्पूर्ण नेपालीलाई आह्वान गर्नुभएको थियो।

बीपीको आह्वानले भारतमा रहेका र देशभित्रका चेतनशील नेपालीमा नयाँ हलचल ल्यायो। नयाँ उत्साह र नयाँ जागरण ल्यायो। बीपीले भारतको विभिन्न भागमा पुगेर त्यहाँका नेपालीसित भेटघाट गर्नुभयो। अन्तत: १९४६ को अक्टोवर ३१ (२००३ कार्तिक १५) का दिन बनारसमा ‘‘अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस’ गठन भयो। एकतन्त्रीय राणाशासनको विरोधमा छिटै एक नयाँ पार्टीको स्थापना गर्न त्यसको अधिवेशन, नाम, झन्डा, विधान आदि सबै तयारीको जिम्मेवारी दिएर यसको गठन गरिएको थियो। त्यसको डिसेम्बर ३ र ४ मा बसेको बैठकले निर्धारण गरेअनुसार वि.सं. २००३ को माघ १२ र १३, तदनुसार १९४७ को जनवरी २५ र २६ का दिन कलकत्तास्थित भवानीपुरको खाल्सा स्कुलको प्रांगणमा यसको पहिलो अधिवेशन भयो। त्यसमा भाग लिन नेपालका केही प्रमुख स्थानबाट र भारतको विभिन्न भागबाट नेपालीहरू प्रतिनिधि भएर आएका थिए। बीपी कोइरालाको अध्यक्षतामा भएको उक्त अधिवेशनले नवगठित पार्टीको नाम ‘नेपाली राष्ट्रिय कांग्रेस’ राख्यो। यसको झन्डा माथिल्लो भाग सेतो, बीचको हरियो, तल्लो भाग पहेँलो र त्यसको बायाँपट्टिको मध्यभागमा रातो रङ्गको उदाइरहेको सूर्य अंकित चिन्ह थियो। सोही दिन विधान र विभिन्न प्रस्ताव पारित गरियो। यसको उद्देश्य ‘अहिंसात्मक साधनद्वारा, जनताको सहयोगले नेपालमा जनउत्तरदायी सरकारको गठन गर्ने’ रहेको थियो। भोलिपल्ट माघ १३ गते दोस्रो दिनको अधिवेशनले यसको कार्यसमितिको चयन गर्यो । त्यसमा नेपालको जेलमा कष्टकर यातना बेहोरिरहेका टंकप्रसाद आचार्य सभापति, बीपी कोइराला कार्यकारी सभापति, बालचन्द्र शर्मा महामन्त्री, डा. डिल्लीराम रेग्मी प्रकाशन विभागको अध्यक्ष, कृष्णप्रसाद भट्टराई संगठन मन्त्री हुनुहुन्थ्यो। गोपालप्रसाद भट्टराई, देवव्रत परियार, डीएन प्रधान, ह्लाक्पा छिरिङ शेर्पा र रुद्रप्रसाद गिरी सदस्य तथा ईश्वर बराल कार्यालय सचिव रहनुभएको थियो। नेपाली राष्ट्रिय कांग्रेसको स्थापनामा गणेशमान सिंहको उल्लेखनीय योगदान थियो। उहाँ नेपालको जेलबाट भागेर आएकोले भारतमा पनि उहाँको खोजी भइरहेको थियो। उहाँ भूमिगत हुनुहुन्थ्यो। त्यसैले उहाँ यो कार्यसमितिमा रहनु भएन। यसको केन्द्रीय कार्यालय तत्काललाई काशीमा राखिने र उचित समयमा काठमाडौंमा सारिने, शाखा कार्यालयहरू भारतको विभिन्न स्थानमा राखिने निर्णय गरिएको थियो। नेपाली राष्ट्रिय कांग्रेसको गठनको मूलभूत उद्देश्य एकतन्त्रीय राणा शासनको विरोधमा यथाशीघ्र देशभित्रैबाट सशक्त ढंगले गतिविधि सञ्चालन गर्ने थियो। तदनुसार २००३ को फाल्गुण २१ देखि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा विराटनगरमा मजदुर आन्दोलन प्रारम्भ भयो। नेपाली भूमिमा भएको यो पहिलो ऐतिहासिक आन्दोलन थियो।

राणाहरूले यसको कठोर दमन गर्न काठमाडौंबाट थप सेना पठाए। विसं २००३ को चैत्र १२ का दिन बिहा सेनाले बीपी कोइराला, गिरिजाप्रसाद कोइराला, तारिणीप्रसाद कोइराला, मनमोहन अधिकारी, गेहेन्द्रहरि शर्मा र युवराज अधिकारीलाई पक्राउ गर्यो। उहाँहरूलाई धनकुटा लगेर त्यहाँबाट पहाडैपहाड काठमाडौं पुर्याइयो । त्यसको विरोधमा मजदुरहरूले सशक्त आन्दोलन अघि बढाए। चैत्र १४ गते विशाल जुलुस प्रदर्शन भयो। त्यसमा सेनाले बर्बरतापूर्वक गोली वर्षायो। मजदुर नेता तुलाराम तामाङ घटनास्थलमै मारिए। अरू अनेकौं घाइते भए। बीपीकी आमा दिब्या कोइराला, नलिनी उपाध्याय, इन्दिरा आचार्य, कामिनी गिरीसमेत दर्जनौंलाई पक्राउ गरेर धनकुटा जेलमा राखियो।

नेपाली राष्ट्रिय कांग्रेसको चैत्र २७ र २८ गते जोगवनीमा भएको सम्मेलनले पक्राउ परेका सबैलाई चैत्र महिनाभित्र रिहा नगरिए २००४ को बैशाख १ देखि देशब्यापी सत्याग्रह आन्दोलन गर्ने निर्णय गर्यो्। विसं २००४ को वैशाख १ देखि देशको विभिन्न ठाउँमा सत्याग्रह प्रारम्भ भयो। अनेकौंले गिरफ्तारी दिँदै गए। राजधानी उपत्यकामा महिनौसम्म लगातार अति सशक्त तवरले सत्याग्रह सञ्चालन भइरह्यो। यो सत्याग्रहले राणातन्त्रका निरंकुश शासक ‘श्री ३ महाराज’ लाई सत्याग्रह रोकियोस्, राजबन्दी रिहाइका साथै संवैधानिक सुधार गर्छु भन्न बाध्य पार्यो ।
विसं २००४ को भाद्रमा बीपीलाई रिहा गरियो। विसं २००४ को फाल्गुण २० देखि २२ सम्म बनारसमा नेपाली राष्ट्रिय कांग्रेसको दोस्रो अधिवेशन भयो। त्यसले बीपी कोइरालालाई सभापति छान्यो। यहाँसम्म आइपुग्दा नेपाली राष्ट्रिय कांग्रेस विरोध र संघर्षको प्रतीक सशक्त राजनीतिक पार्टी भएर देशको प्रत्येक भागमा पुगिसकेको थियो। सबै सीमावर्ती स्थानमा यसको शाखा कार्यालय थिए। विसं २००५ को कार्तिकमा बीपी भूमिगतरूपमा काठमाडौं आउनुभयो। केहीपछि उहाँ पक्राउ पर्नुभयो। उहाँलाई अत्यन्त क्रूरताका साथ एक्लै नेल र हतकडी लगाएर अस्वस्थकर कोठामा राखिएको थियो। केही महिनापछि उहाँले आमरण अनसन सुरु गर्नुभयो। अनसनको २९ औं दिनमा मृत्युको मुखैमा पुगेपछि मात्र उहाँलाई २००६ को जेठ १५ गते रिहा गरियो। उहाँ जेलमै रहेको बेला २००५ को फाल्गुण १८, १९ र २० मा दरभङ्गामा नेपाली राष्ट्रिय कांग्रेसको तेस्रो अधिवेशन भयो। त्यसले बीपीलाइ यथाशीघ्र रिहा नगरे २००६ को जेठ १८ देखि सत्याग्रह गर्ने निर्णयसहित अरू विभिन्न प्रस्ताव पारित गर्यो। सोहि अधिवेशनले मातृकाप्रसाद कोइरालालाई पार्टीको सभापति छान्यो। त्यसबेला भारतमा रहेका सुवर्णशम्शेर, महावीरशम्शेर, सूर्यप्रसाद उपाध्याय, महेन्द्रविक्रम शाह लगायत राणा शासनको विरोधमा संगठन तयार पार्ने योजनामा हुनुहुन्थ्यो। बीपीले उहाँहरूसित भेटेर नेपाली राष्ट्रिय कांग्रेसमा सम्मिलित हुन विशेष आग्रह गर्नुभएको थियो।

नेपाली राष्ट्रिय कांग्रेस अहिंसात्मक मर्यादालाई पूर्णतः पालन गर्ने पार्टी थियो। तर कुनै नियम र कानुनको परिधिभित्र नरहेको नेपालको निरंकुश हुकुमी शासनको विरोधमा अहिंसात्मक कार्यविधि सर्वथा अनुपयुक्त हुन्छ। त्यसको विरोधमा सशस्त्र संघर्ष गर्नसक्ने संगठनको आवश्यकता छ भन्ने उहाँको धारणा थियो। त्यसैले उहाँहरू नेपाली राष्ट्रिय कांग्रेसमा सम्मिलित हुनुभएन। विसं २००५ मा उहाँहरूले एउटा बेग्लै पार्टी ‘नेपाल प्रजातन्त्र कांग्रेस’ को गठन गर्नु भयो। यसको केन्द्रीय कार्यालय, फ्री स्कूल स्ट्रीट कलकत्तामा र अरू विभिन्न स्थानमा शाखा कार्यालय राखिए। वि.सं. २००६ को मध्यतिर आइपुग्दा बीपी र नेपाली राष्ट्रिय कांग्रेसका अरू नेताले पनि राणाहरूको कठोर निरंकुशता, तिनको बर्बरता र पाशविक व्यवहारलाई नजिकैबाट देखिसक्नु भएको थियो। उहाँहरू सबैलाई राणातन्त्रको विरोधमा अहिंसात्मक पद्धति उपयुक्त हुनसक्तैन भन्ने महसुस हुनथालेको थियो। यसले नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको सम्बन्धलाई नजिक पार्दै लग्यो। यी दुई पार्टीका नेता मुख्यतः बीपी र सुवर्णका बीचमा अनेकपटक छलफल र विचार विमर्श भयो।

अन्ततः १९५० को अप्रिल ९ अर्थात् २००६ को चैत्र २७ गते कलकत्ताको टाइगर सिनेमा भवनमा यी दुवै पार्टीको प्रतिनिधिको संयुक्त अधिवेशन भयो। त्यही अधिवेशनले यी दुई पार्टीको विधिवत् एकीकरण गरेर ‘नेपाली कांग्रेस’ को गठन गर्यो। यसको सभापतिमा मातृकाप्रसाद कोइराला र महामन्त्रीमा महेन्द्रविक्रम शाह हुनुभयो। दुवै पार्टीबाट चारचार जना केन्द्रीय सदस्य रहने निर्णयअनुसार, यसको सदस्यमा नेपाली राष्ट्रिय कांग्रेसबाट बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र दयाशंकर मुन्सी तथा नेपाल प्रजातन्त्र कांग्रेसबाट सुवर्ण शम्शेर, सूर्यप्रसाद उपाध्याय, महावीर शम्शेर र कुँवर कल्लु सिंह रहनु भयो। नेपाली कांग्रेसले नेपाल प्रजातन्त्र कांग्रेसको झन्डालाई नै स्वीकार गर्यो । दुई बेग्लाबेग्लै पार्टीको आ-आफ्नो अस्तित्व कायम राखेर ‘नेपाली कांग्रेसको गठन भएको थियो। तर नेपाली राष्ट्रिय कांग्रेसको स्थापना र यसको इतिहाससँगै नेपाली कांग्रेसलाई आबद्ध गरियो र एकीकरण अधिवेशनलाई चौथो अधिवेशन मानेर २००३ को माघ १२ लाई नै नेपाली कांग्रेसको स्थापनाको ऐतिहासिक दिन मानियो। नेपाली कांग्रेसको २००७ को ऐतिहासिक जनक्रान्तिले देशमा प्रजातन्त्रको स्थापना गर्यो।

मैले यि याबत इतिहाँसका कुराहरु राख्न जरुरी थिएन । तर अहिले हामी आफ्ना योगदानका बखान आँफै गर्दै जनसंपर्क समिति,बेल्जियमको चुनाबमा होमिएका छौं । मलाई लाग्छ हाम्रो पार्टिको इतिहास हेर्ने हो र त्यसको गहनतालाई बुझ्ने मात्र प्रयास गर्ने हो भने इतिहासका कालखण्डहरुमा आमा दिब्या कोइराला, नलिनी उपाध्याय, इन्दिरा आचार्य, कामिनी गिरीहरुका ति त्याग र मजदुर नेता शहिद तुलाराम तामाङको समर्पण र बलिदान सामु हामीले गरेका सिनियर र जुनियरका स्वघोसित बयानले हामी आँफैलाई गिज्याएको महशुस हुन्छ । मलाई लाग्छ ठुलो कुरा उमेरमा को जेठो वा कान्छो हैन, समर्पण हो, देशप्रती अनी हामी जहाँ छौ त्यहाँका नेपाली समाज प्रती । सानै भएपनी हामीले काम गरेका छौ र छोटै भएपनी जनसंपर्क समिती बेल्जियमको इतिहाँस छ । कुन परीवेशमा यहाँ जनसंपर्क समिती जन्मियो र त्यो बेलाको अवस्था कस्तो थियो सम्झदा कहाली लाग्छ । त्यो बेला आफ्ना समस्याहरुसँग जुध्दै पार्टिको झन्डा बोक्ने नै हुन हाम्रा अग्रज, नेपाली कांग्रेसका जनक कृष्णप्रसाद कोइराला जस्तै सम्मानित ध्रुब दाई ।

इतिहास प्रती अन्याय गर्न पनि पाइदैन र भुल्न पनि हुँदैन । मेरो कार्यकालमा उनलाई बैधानिक रुपबाटै लेखिने र देखिने गरी सम्मान गर्ने ठुलो धोको छ । त्यसपछीका अग्रजहरुले पनि जनसंपर्क समितिलाई अहोरात्र खटेर संसारले सुन्ने र देख्न सक्ने बनाइ दिएका छन । तसर्थ सबै अग्रजहरु आदरणिय र सम्मान योग्य छन । तसर्थ मैले उनिहरुको सामु झुट्टा फुलबुट्टा भर्नु वा यो वा त्यो गर्छु भन्नु फूर्सो गफ हो । मेरो एउटा खुबी छ, त्यो हो अग्रजलाई सम्मान र ईतिहासबाट सिको ।

अग्रजहरु बलियोबांगो हुँदै सिक्ने जती सिकी हाल्नु भन्थे बुढापाका । मलाई पनि त्यस्तै लागेर बिरवल र अकबरको बिचमा ढिपिवाला बालक बनेर जनसंपर्क समिती बेल्जियमको अध्यक्षको नेतृत्वबारे सिक्न अग्रज र साथीहरुसँग बिन्ती पत्र चढाएको छु । म त सिक्न जाने हो यहाहरुको सहयोगले सफलता हात पर्ने विश्वास लिएको छु । म त्यहा जाने भनेको पार्टिको इतिहाँसलाई सम्मान गर्न नै हो । जुन गौरवमय इतिहासको स्मरण गर्दै गर्दा हामी आँफैलाई गौरवान्वित महसुस गर्छौ । त्यही ईतिहासले हामीलाई नयाँ जिम्मेवारीको महसुस गर्न प्रेरणा दिई रहनेछ र त्यसैको सिको गर्दै म अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गर्दछु ।
जय नेपाल !
(जनसंपर्क समिति बेल्जियमको अध्यक्षको प्रत्याशी)

अन्य समाचारहरू

Pin It on Pinterest

Like us on Facebook